लोकतन्त्र र गणतन्त्र खतरामा परेको बेला गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्छ : एमाले महासचिव पोखरेल

विराटनगर, १० चैत्र २०८१ः

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्र र गणतन्त्र खतरामा परेको बेला गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्ने बताउनुभएको छ।

प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले विगतमा पनि लोकतन्त्र खतरामा परेको बेला दल मिलेर अघि बढेको स्मरण गर्नुभयो। महासचिव पोखरेलले भन्नुभयो, ‘‘राजावादीका कारण नेपाल दुर्घटनामा पर्ने अवस्थालाई नेपाली जनताको लोकतान्त्रिक चेतनाले स्वीकार्न सक्दैन।’’

राजावादीले जनतामा भ्रम छरेर कुप्रचार गरिरहेको आरोप उहाँको छ। विचारविहीन र अवसरवादी दल जन्मिनु कुनै प्रगति नभएको भन्दै महासचिव पोखरेलले च्याउ सरी दलहरु उम्रनु राम्रो नभएको र अहिले पनि नेकपा (एमाले) नै जनताको रोजाइको पार्टी भएको दाबी गर्नुभयो।

राजतन्त्र ठीक थियो भन्ने तर्क मूर्खले पनि नगर्ने महासचिव पोखरेलको भनाइ थियो। उहाँले भन्नुभयो, ‘‘राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खले पनि गर्दैनन् तर यहाँ केहीले त्यस्तो भन्ने गरेको सुनिन्छ। केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन् मलाई अनौठो लाग्छ। राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन्। राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खले पनि गर्दैनन्। आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कूतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् भने त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ।’’ उहाँले जन्मका आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा स्वीकार्न नसकिने पनि बताउनुभयो।

वर्तमान सरकारले सुशासन र विकासको पक्षमा काम गरिरहेको भन्दै सरकारले केही पनि काम गरेन भन्ने हल्ला चलाइएकोप्रति असन्तोष व्यक्त गर्नुभयो। उहाँले देशको आर्थिक सूचकको विद्यमान अवस्थाका बारेमा लामै चर्चा गर्दै देशमा केही भएको छैन भनेर फैलाइएको हल्लाको खण्डन गर्ने प्रयास गर्नुभयो।

महासचिव पोखरेलले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारको संगठन भएको भन्दै यसले सक्षम र योग्य नेतृत्व सबैको सहमतिमा छान्ने विश्वास पनि व्यक्त गर्नुभयो।

एमालेको भातृ संगठन प्रेस चौतारीको आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले दाबी प्रस्तुत गरिरहनुभएको छ। संगठनले बन्द सत्र सुरु भएपछि त्यस विषयमा छलफल गर्ने तयारी गरेको छ। पार्टी नेतृत्व भने सहमतिका आधारमा नयाँ कमिटी गठन गर्ने प्रयत्नमा देखिएको छ।

प्रेस चौतारी नेपालको जारी महाधिवेशनमा देशका ७७ जिल्लाका नौ सय प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ। अधिवेशनबाट ९ जना पदाधिकारी र ९० केन्द्रीय सदस्यसहित ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। यसअघि चौतारीको केन्द्रीय समिति ३०७ सदस्यीय थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!