मध्यपुर थिमि, २८ चैत्र २०८१ः
मानव कल्याण समाज, झौखेल, भक्तपुरद्वारा आयोजित “ज्ञान विज्ञान महायज्ञ” सफलतापूर्वक सम्पन्न भएको छ। चैत २१ गतेदेखि २७ गतेसम्म सम्पन्न महायज्ञको उद्देश्य भक्तपुरलाई सडक मानवमुक्त जिल्ला बनाउने र स्थायी बासस्थान निर्माण गर्नु रहेको आयोजकले जनाएका छन्।
महायज्ञको मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले दिएको जानकारी अनुसार, महायज्ञमार्फत दाताहरूबाट प्राप्त कुल सहयोग ८० लाख ४३ हजार ७ सय १६ रुपैयाँ पुगेको छ भने खर्च २५ लाख १८ हजार ७ सय रुपैयाँ भएको छ। यसरी ५५ लाख २५ हजार १६ रुपैयाँ बचत भएको जनाएको छ।
समाजका संस्थापक अध्यक्ष सुमी मानवले भक्तपुरमा रहेका बेवारिसे अवस्थाका मानवहरूलाई विगतदेखि नै खाना, नाना तथा उपचार सेवा दिँदै आएकामा अब स्थायी आवासको लागि भवन निर्माणमा लागिएको बताए। स्थानीय निकाय र प्रदेश सरकारबाट प्राप्त सहकार्य र सहयोगका प्रतिबद्धताले अभियानलाई थप ऊर्जा मिलेको उनले उल्लेख गरे।
साथै, श्रीमद्भागवत कथा वाचनमार्फत महायज्ञमा आध्यात्मिक सन्देश पनि सँगै प्रवाह गरिएको थियो। सुमी मानव स्वयं पनि कथावाचकको रूपमा प्रस्तुत भएका थिए।
कोषाध्यक्ष नरेश रञ्जितले दाताहरूले भौतिक उपस्थितिसँगै बैंक ट्रान्सफर तथा QR मार्फत पनि सहयोग गरेको जानकारी गराउँदै सम्पूर्ण दाताहरू, संचारकर्मी, स्वयंसेवक र सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।