भक्तपुर, २८ चैत्र २०८१ः
नयाँ वर्ष २०८१/८२ को पुर्बसन्ध्या संगै सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा भएको महोत्सवले भक्तपुरलाई ‘उद्योग, संस्कृति र कृषि’ को संगमका रूपमा चिनाउने लक्ष्य राखेको छ।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति तथा संघिय सांसद माननीय दुर्लभ थापाले उद्घाटन समारोहमा बोल्दै यस्ता महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवर्द्धनमा टेवा पुग्ने बताए। करिब १५० भन्दा बढी स्टलमा खाद्यान्नदेखि लत्ताकपडा, कृषि औजार, हस्तकला, इलेक्ट्रोनिक्स र मोबाइलसम्मका सामग्री प्रदर्शनी तथा बिक्रीमा छन्।
बालबालिकाका लागि ड्रागन ट्रेन, रोटी पिङ लगायत आकर्षक खेल साधन, खाना महोत्सव, फेसन शो, हास्य कार्यक्रम, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति लगायत विविध सांस्कृतिक कार्यक्रमहरू महोत्सवको विशेषता हुन्।
महोत्सवका संयोजक तथा कार्यक्रम अध्यक्ष दीपक थापाका अनुसार, पाँच लाखभन्दा बढी दर्शकको सहभागिता अपेक्षा गरिएको छ भने सामग्रीहरूमा २०–५० प्रतिशत छुट दिइएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था छ। महोत्सव वैशाख ७ गतेसम्म चल्नेछ।