सल्यान, २८ चैत्र २०८१ः
औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय सल्यान र उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले सल्यानका १९ सरकारी तथा निजी अस्पताल, क्लिनिक र फार्मेसीबाट लाखौं मूल्य बराबरका म्याद गुज्रिएका औषधिहरू बरामद गरेको छ।
सर्वसाधारणबाट निजी स्वास्थ्य संस्थाहरूले अत्यधिक शुल्क असुलेको र प्रतिबन्धित औषधिहरू समेत बिक्री गरिरहेको गुनासो आएपछि यो अनुगमन गरिएको हो।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालका अनुसार, जिल्लाको शारदा नगरपालिका–१ श्रीनगर, सिद्धकुमाख गाउँपालिकाको ढोडचौर, मोख्ला र बागचौर नगरपालिकाको बागचौर बजारमा रहेका अस्पताल तथा क्लिनिकमा छापा मारिएको हो।
“अनुगमनका क्रममा म्याद गुज्रिएका करीब ८ लाख मूल्य बराबरका औषधि र विभिन्न सर्जिकल सामग्रीहरू बरामद भएका छन्,” खरालले जानकारी दिए।
बरामद सामग्रीलाई औषधि व्यवस्था विभाग, नेपालगन्ज पठाइएको र त्यहाँ नष्ट गरिने उनले बताए। खरालले पहिलोपटक भएकाले स्वास्थ्य संस्थाहरुलाई चेतावनी मात्र दिइएको जनाउँदै भविष्यमा यस्ता गतिविधि दोहोरिएमा कडा कारबाही गरिने चेतावनीसमेत दिए।