मध्यपुर थिमि (भक्तपुर), ११ बैशाख २०८२
पूर्व मन्त्री स्व. जगन्नाथ आचार्यको १०२ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जनआन्दोलनमा सक्रिय सबै राजनीतिक दललाई फेरि एउटै मोर्चामा उभिन आग्रह गरेका छन्।
सिंहले २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनसम्म सम्पूर्ण दलहरू जनतासँगै उभिएर ल्याएको परिवर्तन आज जोखिममा परेको भन्दै चेतावनी दिए। “धेरै त्याग र बलिदानपछि प्राप्त लोकतन्त्र रक्षा गर्नु हाम्रो साझा दायित्व हो,” उहाँले भने, “अधिकार मात्र मागेर कर्तव्य भुल्ने हो भने उपलब्धि पछाडि धकेलिन सक्छ।”
उहाँले पछिल्ला दिनमा युवाहरू “लहैलहै” मा लागेर अधिकारमाथि बेवास्ता गर्न थालेको उल्लेख गर्दै सचेत रहन आह्वान गरे।
कार्यक्रममा पूर्व मन्त्री ढुण्डीराज शास्त्री तथा नेपाली काँग्रेस भक्तपुरका पूर्व जिल्ला सभापति तिलकप्रकाश कायस्थलाई सम्मान गरिएको थियो।
त्यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाल तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थ, र जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद आचार्यलगायत वक्ताहरूले स्व. आचार्यले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान स्मरण गर्दै लोकतन्त्र सुदृढ पार्न निरन्तर एकता आवश्यक भएको धारणा राखे।