युवाले देश बनाउने संकल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ वैशाख २०८२ः

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) ले लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजिते युुवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो।

“देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्।महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्।ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “वैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो।यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ।निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको थियो।हामीले अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको हो।सामन्ती व्यवस्थालाई पुनः फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जङ्गली र राक्षसी प्रकृत्ति गलत हो।यस्ता कार्य सैह्य हुँदैन ।’’

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो।प्रधानमन्त्री ओलीले मुलुकमा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै आफ्नो पार्टी सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको जनाउनुभयो ।

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै उहाँले केही मानिसलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएको भन्दै यसमा सचेत हुनुपर्ने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!