भक्तपुर, १२ बैशाख २०८२ः
विश्व औलो (मलेरिया) दिवसको अवसरमा शुक्रबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरियो। प्रत्येक वर्ष अप्रिल २५ का दिन मनाइने यो दिवस यसपटक “औलो हटाउन तयार छौं” भन्ने नारासहित मनाइएको हो।
भक्तपुरमा पनि यो अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। जनस्वास्थ्य कार्यालय, भक्तपुरले जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कार्यालय प्रमुख अञ्जना खड्काले नेपालले सन् २०२५ भित्र औलो रोग उन्मूलन गर्ने लक्ष्य राखेको भए पनि त्यो सफल नभएको र अब सन् २०३० सम्ममा उन्मूलन गर्ने नयाँ कार्ययोजना रहेको जानकारी दिइन्।

खड्काका अनुसार औलो रोग ‘एनोफिलिज’ नामक पोथी लामखुट्टेको टोकाइबाट सर्छ, जुन प्रायः फोहर तथा दूषित पानीमा बस्ने गर्छ। विश्व स्वास्थ्य संगठनका तथ्यांक अनुसार प्रत्येक वर्ष करिब ५० हजार मानिस औलोबाट प्रभावित हुने गर्छन्, जसमा करिब २७ प्रतिशतको मृत्यु हुने गर्छ। तीमध्ये अधिकांश पाच वर्षमुनिका बालबालिका हुने गरेका छन्।
सन् २०१६ मा मात्र ९१ वटा देशका २१६ मिलियन व्यक्ति औलोबाट प्रभावित भएका थिए भने ४ लाख ४५ हजारको ज्यान गएको थियो। नेपालमा गत वर्ष ५४१ जना औलो संक्रमित भेटिएका थिए। खुला सिमा क्षेत्रको कारण झन्डै ४५ प्रतिशत संक्रमित भारतबाट आएका संक्रमित लामखुट्टेको टोकाइबाट सरेको अनुमान गरिएको छ।
औलो विशेष गरी गर्भवती महिला र पाच वर्षमुनिका बालबालिकाका लागि बढी खतरनाक हुने चिकित्सकहरू बताउँछन्। नेपालमा प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स नामक दुई परजीविबाट सर्ने औलो पाइन्छ, जसमा फाल्सिपेरम बढी खतरनाक मानिन्छ।
नेपालमा हरेक वर्ष झन्डै एक हजारजति औलो रोगी प्रयोगशालाबाट पुष्टि हुने गर्छन्। यो रोग विशेष गरी वर्षायाम सुरु भएसँगै सक्रिय हुने र जुलाईदेखि नोभेम्बरसम्म बढी फैलिने गर्छ।