काठमाडौं, १३ वैशाख २०८२ः
रत्न काजि प्रजापति
देशभरका लेयर्स कुखुरापालक किसानहरू लामो समयदेखिको घाटाबाट थोरै उन्मुक्ति पाउन थालेका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आज काठमाडौंमा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजना गरेको बृहत छलफलपछि वैशाख १४ गते आइतबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ।
संघले तोकेको नयाँ होलसेल मुल्य अनुसार एक्सएल अण्डा प्रति बक्स रु ३,१४०/-, ठूलो अण्डा प्रति बक्स रु ३,०००/-, मिडियम अण्डा प्रति बक्स रु २,६५०/- रहेको छ।
नेपालभर लागू हुने यो मूल्यले लेयर्स कुखुरापालक किसानहरूलाई थोरै राहत प्रदान गरे पनि अझै उत्पादन लागत र दाना व्यवस्थापनको चुनौती कायमै रहेको संघले जनाएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रिय अध्यक्ष विनोद पोखरेलका अनुसार, पछिल्लो समयमा अण्डा उत्पादनमा आएको गिरावट, कुखुरामा मौसमी रोगहरू देखा पर्नु तथा अत्यधिक गर्मीका कारण उत्पादन क्षमतामा ह्रास आउनु जस्ता कारणले किसानहरू ठूलो संकटमा थिए। त्यसमाथि, उत्पादन लागत निरन्तर बढ्दा समेत अण्डाको मूल्य न्यून रहँदा थुप्रै किसानहरूले व्यवसाय नै छाड्न थालेका थिए।

तर, हाल पर्यटन क्षेत्रमा आएको सुधार, लामो समयको बिदा पछि विद्यालय र क्याम्पसहरू सञ्चालनमा आउनु र बजारमा अण्डाको माग बढेसँगै मूल्यमा सुधार देखिएको छ। अध्यक्ष पोखरेल भन्छन्, “अहिलेको मूल्य वृद्धिले थोरै राहत पुगे पनि लागत अनुसार अझै सन्तुलित नहुनाले किसानहरू दीर्घकालीन योजना बनाउन सकिरहेका छैनन्। तर अहिलेको अबस्थालाई बिश्लेषण गर्दा अण्डाको मुल्यमा दिनानुदिन बृद्दि हुने संभावना रहेको छ। “

संघका सल्लाहकार राजेन्द्र लामिछानेले भारतीय सीमाबाट अवैध रूपमा भित्रिने पोल्ट्री्जन्य बस्तुहरुको प्रवाहमा आएको कमीलाई मूल्य वृद्धि हुने अर्को प्रमुख कारणका रूपमा बताएका छन्। उनका अनुसार अवैध पैठारी रोकिँदा नेपाली किसानलाई उत्पादनको उचित मूल्य निर्धारणमा सहयोग पुगेको छ।
केहि समय अघिसम्म अण्डाको मुल्यमा निकै कमि आएको तथा बर्सेनि अण्डाको मूल्य अनिश्चित भइरहेकाले कुखुरापालन व्यवसायमा निराशा बढेको थियो। अहिले देखिएको सुधारले किसानहरूलाई अलिकति आशावादी बनाएको भए पनि, व्यवसाय सुरक्षित राख्न थप सहजीकरण र समर्थन आवश्यक रहेको उनीहरू बताउँछन्।