
परिचय
नेपाल एक कृषि प्रधान देश हो, जहाँ कृषिसँग सम्बन्धित उद्योगहरूले जनजीवनको महत्वपूर्ण पक्ष ओगटेका कुरा सर्वविदितै छ । यिनै मध्ये कृषि क्षेत्रको एकमात्रै तथा निकै संवेदनशील रहेको पोल्ट्री उद्योग तथा व्यवसाय आधुनिकीकरण, यान्त्रीकरण तथा व्यवसायीकरणले गर्दा कुखुराको मासु, अण्डा, चल्ला तथा दानाको उत्पादनमा नेपाल आत्मनिर्भर भई तीव्र गतिमा विस्तार हुनु हामी सबै नेपालीको गौरवको विषय हो ।
तुलनात्मक रुपमा सस्तो, सहज तथा पौष्टिकताले परिपूर्ण भएकोले कुखुराको अण्डा तथा मासु नेपाली जनताको सर्वसुलभ र सहजरुपमा प्रमुख प्रोटिन स्रोत बनेको छ । यसरी स्वदेशमा रोजगारी सिर्जना, ग्रामीण आर्थिक सुधार र पोषण सुरक्षामा समेत उल्लेखनीय योगदान दिएको यो क्षेत्रमा अवसरहरूसँगै विविध समस्या र चुनौतीहरू पनि रहेका छन्, जसको समाधान नगरी दीगो विकास सम्भव छैन ।
नेपाली पोल्ट्री क्षेत्रको वर्तमान अवस्था
नेपालको पोल्ट्री व्यवसायले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको छ । वि.सं. २०५० साल बाट व्यावसायिक पोल्ट्री पालनको सुरुआत भए पनि पछिल्लो दुई दशकमा यसको विकास दर तीव्र भएको हो । कोभीड २०१९ को महामारी तथा रसिया युक्रेनको युद्धका कारण भएको आर्थिक मन्दी तथा नेपालको विषम आर्थिक परिस्थितीका वावजुत पनि हाल देशैभरीमा व्यवसायिक रुपमा संचालनमा रहेका ह्याचरी उद्योग ९९ वटा, दाना उद्योग ९० वटा, लेयर्स फार्म करिब ६००, ब्रोइलर फार्म ३,००० बाट ब्रोइलर चल्ला ३३–३५ लाख प्रति हप्ता, लेयर्स चल्ला १ लाख २५ हजार प्रति हप्ता,
कलर ब्रोइलर चल्ला १ लाख प्रति हप्ता उत्पादन भई रहेको छ । जसलाई आवश्यक पर्ने दाना उद्योगवाट उत्पादित दाना २,८०० मे. टन प्रति दिन तथा प्यारेण्ट फार्म र व्यवसायिक लेयर्स फार्मका लागी हुने स्वःउत्पादन १,७०० मे. टन प्रति दिन गरि कुल ४,५०० मे.टन दाना दैनिक रुपमा उत्पादन भै रहेको छ भने५०–५२ लाख गोटा अण्डा तथा ७–८ लाख के.जी. कखुराको मासुको दैनिक रुपमा उत्पादन भएर हरेक नेपालीका भान्छामा सहज रुपमा पुगेकोछ ।
पोल्ट्री क्षेत्रले दिएको योगदान
१. आर्थिक योगदानः नेपाल सरकारबाट निजी क्षेत्रको एकमात्र आत्मनिर्भर घोषणा भएको पोल्ट्री क्षेत्रमा करिब रु. १६० अर्बको लगानी रहेकोे यस क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशतको योगदान गरेको र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशतको योगदान रहेको छ ।
२. रोजगारी सिर्जनाः प्रत्यक्ष रोजगारी (कुखुरा पालन, ह्याचरी, फिड उद्योग, खोप तथा औषधि आपूर्ति, पोल्ट्री उपकरण निर्माण, मासु प्रशोधन आदि) र अप्रत्यक्ष रोजगारी (ढुवानी, खुद्रा व्यापार, बजार व्यवस्थापन आदि) गरी प्रत्यक्ष ३ लाख र अप्रत्यक्ष गरी करिव ५ लाखको रोजगारी भएका यो क्षेत्रले दिइरहेको छ ।
३. पोषण सुरक्षामा योगदानः कुखुराको मासु र अण्डा दुबै प्रोटिन, भिटामिन र खनिजयुक्त पोषिलो आहार हो। कम आय भएका परिवारहरूको लागि समेत सुलभ र पोषणयुक्त खाद्य स्रोतको रुपमा औसत रु.२२ प्रति कुखुराको अण्डा तथा रु. ३५० प्रति केजी कुखुराको मासुका रुपमा नेपालमा पोल्ट्री उत्पादन पोषण सुरक्षाको एक बलियो आधार रहेको छ ।
पोल्ट्री क्षेत्रका प्रमुख चुनौतीहरूः
यद्यपि पोल्ट्री क्षेत्रले आशाजनक प्रगति गरिरहेको भएता पनि यस क्षेत्रमा समाधान गर्नुपर्ने विभिन्न चुनौतीहरू रहेका छन्ः
१. रोगको उच्च जोखिमः पोल्ट्री फार्महरूमा रोग प्रकोप (विशेषगरी बर्ड फ्लु, रानीखेत रोग, IBD आदि) ठूलो समस्या हो । रोग लाग्दा हजारौं कुखुरा मर्न पुग्छन् र कृषकको पूँजी डुब्छ । असल खोर व्यवस्थापन, जैविक सुरक्षा ( Boisecurity) सम्बन्धी चेतना र प्रविधिको अभाव हुँदा विभिन्न विषाणु तथा जिवाणु आदि रोगहरू तीव्र गतिमा फैलिन्छन्।
२. दाना कच्चा पदार्थ तथा दानाको मूल्यमा अस्थिरताः पोल्ट्री उत्पादन लागतको ७०% भन्दा बढी हिस्सा कुखुराको आहार (फिड) मा जाने गर्छ । दानाका लागि चाहिने मकै, भटमास पीना, ढुटो, भिटामिन मिनरल्स, फिड सप्लिेमेण्ट्स आदि जस्ता कच्चा पदार्थहरू प्रायः आयातमा भर पर्ने भएकाले मूल्यमा अत्यधिक उतारचढाव देखिनाले किसानको त्पादन लागत बढाउँछ र नाफा घटाउँछ ।
३. आधुनिक प्रविधिको अभावः धेरै पोल्ट्री फार्महरू अझै परम्परागत तरिकाबाट सञ्चालन भइरहेका छन्। तापक्रम नियन्त्रण, स्वचालित प्रणाली, रोग पहिचान प्रविधि, वैज्ञानिक व्यवस्थापन जस्ता प्रविधिको प्रयोग सीमित छ । तालिमप्राप्त जनशक्तिको अभावले प्रविधिको प्रयोगमा झन कठिनाइ थपेको छ ।
४. बजार व्यवस्थापनमा कमजोरीः पोल्ट्री उत्पादनपछि किसानले उपयुक्त मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न सक्दैनन् । बिचौलियाले मूल्य नियन्त्रण गर्ने भएकाले किसानले न्यून मूल्य पाउँछन्। बजारमा अत्यधिक आपूर्ति हुँदा मूल्य घट्ने र अभाव हुँदा बढ्ने प्रवृत्ति, किसानले उचित लागत मूल्य नपाउँदा हुने निरन्तर घाटा आदि कारणलेदीर्घकालीन रूपमा अस्थिरता निम्त्याई रहेको छ ।
५. चालु पूँजी, सहुलियत कर्जा तथा छुटको अभावः कच्चा पदार्थका उच्च मूल्यले गर्दा दानाको मूल्य बढी हुने कारणले किसानका लागत मूल्य बढ्दा हुने घाटा निराकरण गर्नका लागी चालु पूँजीको अभावले तथा सहुलियत पूर्ण कर्जा, बिजुली मा छुट नहुँदा अधिकाँश किसान पलायन र धराशायी बनेका छन्।
६. सरकारी नीतिको अभाव र असहयोगः पशुपन्छी औषधि ऐनको अभावमा अत्यावश्यक औषधिको चरम अभाव रहेको छ । पोल्ट्री क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकारबाट पर्याप्त नीति, अनुदान, बीमा सुविधा, विपद्व्यवस्थापन प्रणाली आदि छैन । कुखुरा तथा पशुपंक्षीका लागि आवश्यक पर्ने दानाका कच्चापदार्थहरु मध्य मकै करिब ६० प्रतिशत र भटमास पीना ९९ प्रतिशत विदेशवाट आयात गर्नु पर्ने अवस्था रहेको र कच्चा पदार्थको मूल्यमा अत्यधिक मात्रमा बृद्धि भएको कारण पोल्ट्रीजन्य उत्पादनहरु चल्ला, अण्डा, कुखुरा र मासुको उत्पादन लागत अत्याधिक रुपमा बृद्धि हुन पुगेको छ । विदेशवाट आयात हुने कच्चापदार्थहरु आयात गर्दा लाग्ने गरेको भन्सार तथा कृषि सुधार शुल्कका कारण पनि पोल्ट्रीको उत्पादन लागत बृद्धि भएको कारण समग्र कुखुरापालन व्यवसाय अत्यन्तै प्रभावित भएको छ ।
७. खुल्ला सिमाना, चोरी पैठारी तथा विदेशी उत्पादनसँगको प्रतिस्पर्धाः खुल्ला सिमानाका कारण भारतीय सीमाका जिल्ला नाकाहरु विशेष गरी नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, विराटनगर, झापा लगायतबाट अवैध रुपमा चल्ला, तयारी कुखुरा, कुखुराको मासु, अण्डा, भ्याक्सीन चोरी पैठारी हुने गरेको छ । विशेष गरी भारतीय सीमा नाकाहरुका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतवाट अवैध रुपमा कुखुरा आयात गरी ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेका छन्। अर्को चुनौतीका रुपमा भारतवाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीटकर्न, फ्रेन्च फ्राई आदि मात्र उल्लेख गरी भन्सार कार्यालयबाट जाँचपास भई नेपाल भित्रने गरेका र त्यस्ता मालबाहक कन्टेनरहरु नेपाली किसानहरुको पहलमा चेकजाँच गर्दा अवैध र गैरकानूनी रुपमा राजस्व समेत छली कुखुराको फ्रोजन मासु, माछा समेत चोरी पैठारी भईरहेको अवस्था छ । खुल्ला सिमाना तथा फितलो नाकाका फाईदा उठाएर त्यस्ता रोगी र संक्रमित पन्छी तथा पन्छीजन्य पदार्थहरुका अवैध तथा गैरकानूनी चोरी पैठारीले गर्दा मानव स्वास्थ्यमा गंभिर असर पर्नुका साथै एकमात्र आत्मनिर्भर र संवेदनशील पोल्ट्री क्षेत्रका खरबौंको लगानी तथा लाखौको रोजगारी नै धराप तथा अत्यन्तै जोखिममा परेको छ ।
८. प्राकृतिक प्रकोपको जोखिमः
नेपाल भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपद्का हिसाबले संवेदनशील देश हो। यस्ता घटनाहरूले पोल्ट्री फार्महरूमा व्यापक क्षति पुर्याउँछन्। साना किसानहरूलाई पुनः लगानी गर्ने क्षमता नहुँदा उनीहरू व्यवसायबाट बाहिरिने अवस्था आउँछ।
समस्या तथा समाधानका उपायहरूः
नेपालको पोल्ट्री क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र दिगो बनाउन निम्न उपायहरू अवलम्बन गर्नु जरुरी छ :
निष्कर्षः
नेपाली पोल्ट्री क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यद्यपि यो क्षेत्र अझै असंगठित, जोखिमपूर्ण र नीति अभावको स्थितिमा रहेको छ । आन्तरिक उत्पादनलाई प्रवद्धन गर्नका लागी कृषिजन्य प्राथमिक उत्पादनमा मू.अ.कर लगाउदा उपभोक्त मूल्य बढ्न जाने र चोरी पैठारी बढने हुनाले र आन्तरिक उत्पादनले माग धान्ने, मासुमा पूर्ण आत्मनिर्भर भएकोले यदि पोल्ट्रीलाई व्यवस्थित, वैज्ञानिक, प्रविधिमैत्री र बजारमुखी बनाइयो भने यसले दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउनेछ । साना किसानको क्षमता अभिवृद्धि, सरकारी सहयोग, निजी क्षेत्रको लगानी र नीति निर्माताको सक्रिय सहभागिताले यो क्षेत्रलाई दीगो र प्रतिस्पर्धी बनाउन सक्छ ।
धन्यवाद ।
(लेखक नेपाल पशुपंक्षी औषधी पैठारीकर्ता संघका निबर्तमान अध्यक्ष तथा नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका पुर्ब केन्द्रिय महासचिब पनि हुनुहुन्छ।)