काठमाडौँ , ७ मंसिर २०८२ः
नेपाल लेयर्स कुखुरापालक संघले सामाजिक सञ्जालमार्फत संघ तथा यसको नेतृत्वमाथि भइरहेको दुर्भाषण र अनैतिक टिप्पणीहरूप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सूचना जारी गरेको छ। संघका अनुसार केही व्यक्तिहरूले आधिकारिक पोस्टहरूमा गाली–गलौज तथा अतिरञ्जित अभिव्यक्ति प्रयोग गर्दै संघको छवि धुमिल पार्ने प्रयास गरिरहेका छन्।
संघका पदाधिकारीहरूका अनुसार अण्डा उत्पादन तथा बजार व्यवस्था अस्तव्यस्त भएपछि अण्डा उत्पादकहरूको बृहत् भेलाको निर्णयअनुसार संघ गठन गरी नेपाल सरकारका सम्बन्धित निकायमा दर्ता गरिएको थियो। गठनदेखि नै संघले अण्डा उत्पादनमा संलग्न व्यवसायीहरूको हक, हित र विकासका विषयमा निरन्तर काम गर्दै आएको छ।
यद्यपि, केही गैर–सदस्य व्यक्तिहरूबाट भइरहेको अनियन्त्रित अभिव्यक्ति र दुराशयपूर्ण टिप्पणीका कारण संघभित्र मात्र होइन, सम्पूर्ण अण्डा उत्पादक किसानहरूबीच पनि असन्तुष्टि बढ्दै गएको संघको भनाइ छ।
संघले सार्वजनिक रूपमा जारी गरेको सूचनामा सामाजिक सञ्जालमा भ्रामक, अनैतिक र अपमानजनक अभिव्यक्ति फैलाउँदै आएका व्यक्तिहरूलाई अन्तिम चेतावनी दिँदै यस्ता गतिविधि तुरुन्त रोक्न आग्रह गरेको छ। यस्ता हर्कत नरोके संघले कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।
संघका अनुसार यस प्रकारका आपत्तिजनक गतिविधिले किसानहरूको मनोबलमा नकारात्मक प्रभाव परेको छ र अण्डा उद्योगको विश्वसनीयतामा समेत गम्भीर खलल पुगेको छ।