रामेछाप — सुनापति गाउँपालिका–५, खनियापानीमा ७२ दिने गलैचा बुनाइ तालिम सुरु गरिएको छ। मंगलबार उद्घाटन गरिएको तालिमको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिँदै गाउँपालिकाले विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिए।
उनले सिप सिकाएर जनताको जीवनस्तर उकास्ने र गाउँपालिकालाई समृद्ध र सुखी बनाउने लक्ष्य अनुसार गलैचा बुनाइ तालिम आयोजना गरिएको बताए। “हामी विकासका आधारहरूमा जोड दिँदै सिपमूलक कार्यक्रममार्फत युवाहरूलाई रोजगारीमा जोड्ने अभियानमा छौं,” अध्यक्ष तामाङले भने।
तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ। तालिम सम्पन्न भएपछि सहभागीहरूले सिपको प्रयोग गरेर आत्मनिर्भर बन्ने विश्वास लिइएको छ।