भक्तपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी ढकाललाई स्वागत, स्थानीय उत्पादन प्रवर्द्धनमा सक्रिय सहकार्यको प्रतिबद्धता

भक्तपुर, ४ मंसिर २०८२ः

भक्तपुर जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा पदभार ग्रहण गर्नुभएका उमेशकुमार ढकाललाई घरेलु तथा साना उद्योग संघ भक्तपुरले स्वागत तथा उद्यमी–व्यवसायीबीच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सिडिओ ढकालले देशका विभिन्न १३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा कार्य गरिसकिएको अनुभव साझा गर्दै जुनसुकै जिल्लामा जाँदा पनि स्थानीय उत्पादन र स्थानीय उद्यमलाई प्राथमिकता दिएको स्मरण गराउनुभयो। भक्तपुरजस्तो सांस्कृतिक, पर्यटकिय र ऐतिहासिक क्षेत्रमा कार्य गर्न पाउनु उहाँका लागि गौरवको विषय भएको बताउँदै साना तथा लघु उद्यम प्रवर्द्धनमा प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले आफ्नै कार्यकक्षमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने परम्परा निरन्तर रहने उल्लेख गर्दै मेला–महोत्सवमा मनोरञ्जनभन्दा स्थानीय उत्पादनको प्रदर्शनी र प्रचार–प्रसारलाई केन्द्रमा राखिनुपर्ने सुझाव दिनुभयो। समाजलाई अगाडि बढाउन घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण हुने हुँदा उद्यमीहरू निर्धक्क भई उद्यम सञ्चालन गर्न प्रोत्साहन पनि गर्नुभयो।

कार्यक्रममा संघका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले स्थानीय उत्पादनप्रतिको जागरूकता स्थानीय तहबाटै बढ्ने भएकाले स्थानीय सरकारले उत्पादनप्रति अपनत्व लिनुपर्ने धारणा राख्नुभयो। अर्का पूर्व अध्यक्ष सत्यनारायण प्रजापतिले २०७८ सालमा वीरगञ्जमा भएको महासंघको महाधिवेशन आयोजनामा त्यतिबेलाका सिडिओको सहयोग सम्झिँदै ढकालप्रति आभार व्यक्त गर्नुभयो।

उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सघसँग विगतदेखि तालिम, मेला तथा विभिन्न कार्यक्रमहरूमा सहकार्य हुँदै आएको जानकारी दिनुभयो।

त्यसैगरी, Go Local अभियानका संयोजक विरेन्द्र जतिले संघले सञ्चालन गरिरहेको अभियानको उद्देश्य र प्रभावबारे प्रकाश पार्नुभयो। संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले साना उद्यमीलाई जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर साथ मिल्ने आशा व्यक्त गरे।

संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मण ग्वाछा, उपाध्यक्ष हरिगोपाल त्वायना, सचिव श्रीजना कक्षपतिलगायतले संघका गतिविधि र योगदानबारे आफ्ना विचार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!