हेटौँडा, ३ मंसिर २०८२ /संजिब दुलाल
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखाको शैलुङमा निर्माण सम्पन्न शैलुङ गोलघर र शैलुङ कम्युनिटी लज स्थानीय सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि २०८१ अनुसार यी संरचनाहरू मंसिर २ गते शैलुङ गाउँपालिकालाई जिम्मेबारी सहित बुझाइएका हुन्।
गोलघर वडा नं. १ र कम्युनिटी लज वडा नं. ८ मा पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न आर्थिक वर्षमा निर्माण भएका थिए। मन्त्रालयले पहिलो चरणमै शैलुङका संरचनाहरू हस्तान्तरण गर्दै आगामी दिनमा अन्य स्थानका पूर्वाधार पनि क्रमिक रूपमा हस्तान्तरण हुँदै जाने जानकारी दिएको छ।
संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठका अनुसार, “निर्माण सम्पन्न संरचना समयमै स्थानीयलाई नबुझाउँदा बिग्रने जोखिम बढ्ने भएकाले मन्त्री बनेको पहिलो दिनदेखि नै स्थलगत अनुगमनसहित हस्तान्तरण प्रक्रियालाई प्राथमिकतामा राखिएको” हो। उनले नुवाकोटको ककनीमा बनेको भ्यूटावर तथा मल्टिपर्पोज हल आगामी मंसिर ७ गते हस्तान्तरण हुने र चिम्टेश्वर भ्यूटावर पनि छिट्टै हस्तान्तरण प्रक्रियामा रहेको बताए।
प्रदेश सचिव दीपेन्द्र सुवेदीले लामो समयदेखि थन्किएका संरचनाबाट प्रतिफल आउन नसकिरहेको अवस्थामा कार्यविधि बनाएर व्यवस्थित रूपमा स्थानीय सरकारलाई जिम्मेवारी दिने बाटो खोलिएको जानकारी दिए। हस्तान्तरणपछि आवश्यक मर्मतसम्भार पनि यही प्रक्रियाअनुसार अघि बढाइने बताइएको छ।
आयोजना प्रमुख रोशन श्रीवास्तवका अनुसार, २०७६ सालदेखि बहुवर्षीय योजनाका रूपमा सुरु भएका परियोजनाहरूको अवस्थासहित मूल्यांकन गरेर हस्तान्तरण गरिएको हो।
शैलुङ गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठले लामो प्रतीक्षापछि संरचना पालिकाले सञ्चालन गर्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरे। “हामी निरन्तर माग गर्दै आएका थियौँ। मन्त्री सुरेश श्रेष्ठ आएपछि प्रक्रिया छिटो भयो,” उनले भने।
हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव सुवेदी, आयोजना प्रमुख श्रीवास्तव, गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ, कार्यकारी अधिकृत संजिब न्यौपाने तथा वडा अध्यक्ष वीर बहादुर घतानीको उपस्थिति थियो।
हस्तान्तरण समझदारी अनुसार आम्दानीको ३० प्रतिशत प्रदेश सरकार र ७० प्रतिशत स्थानीय पालिकाले प्राप्त गर्ने व्यवस्था गरिएको छ।