सामाजिक सञ्जालमा फैलिएको जुजु धौ बारेको अफवाहको विभागद्वारा खण्डनः “गुणस्तरमा कुनै समस्या देखिएन”

भक्तपुर, २९ बैशाख २०८२ः
रत्न काजि प्रजापति

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले जुजु धौ (दहि) सम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भ्रामक प्रचारहरूको खण्डन गरेको छ। भक्तपुर नगरपालिका वार्ड नं. २, व्यासीस्थित लक्ष्मी दहि भण्डार र सैजु दुग्ध उद्योगका साथै अन्य डेरी उद्योगहरूको निरीक्षण गर्दा कुनै पनि प्रकारका अखाद्य पदार्थ, जस्तै टिस्यु पेपर, कागज, वा पानीमा नघुल्ने वस्तुहरू दहीमा मिसाइएको पाइएन।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बरिष्ठ खाध अनुसन्धान अधिकृत सुमन धितालका अनुसार, मिति २०८२/०१/२६ गते गरिएको यो अनुगमनले दहीको उत्पादन र विक्री वितरणको प्रक्रियामा कुनै पनि अस्वस्थ्य घटकको उपस्थिति नदेखाएको पुष्टि भएको छ। सामाजिक सञ्जालमा फैलिएका भ्रामक जानकारीहरूले उद्योगहरूको प्रतिष्ठामा नकारात्मक असर पुर्याउन सक्ने भएकाले विभागले यसप्रकारका समाचार र सामग्रीहरू प्रसारण गर्दा अधिक सावधानी र जिम्मेवारी अपनाउन आग्रह गरेको छ।

प्रेस नोटमा भनिएको छ, “सामाजिक सञ्जालमा पोस्ट गरिएका तथ्यहीन भिडियोहरू उद्योगलाई नकरात्मक प्रभाव पार्न सक्छ, जसले राष्ट्रिय अर्थतन्त्रमा पनि प्रतिकूल असर पुर्याउन सक्छ।”

साथै, खाद्य व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर ऐन, २०८१ को पालन गर्न आग्रह गरिएको छ। विभागले खाद्य पदार्थको गुणस्तर र स्वच्छता सम्बन्धी कुनै पनि गुनासोको भए विभाग र मातहतका कार्यालयहरूमा सूचना दिन पनि अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!