न्यून गुणस्तर भेटिएपछि तीन प्रकारका औषधि बजारबाट फिर्ता गर्न निर्देशन

 

काठमाडौँ, २ जेठ २०८२ः

औषधि व्यवस्था विभागले बजारमा पाइएका केही क्याप्सुल औषधिहरूमा न्यून गुणस्तर (substandard) भेटिएको भन्दै ती औषधिहरू तुरुन्त बजारबाट फिर्ता (recall) गर्न निर्देशन दिएको छ। विभागले वैशाख ३१ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै तीन प्रकारका औषधि परीक्षणमा फेल भएको जनाएको हो।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणअनुसार ती औषधिहरू भारतको औषधि मापदण्ड IP 2022 अनुसारको assay test मा सफल हुन सकेनन्। त्यसैले औषधि ऐन, २०३५ को दफा १४ अनुसार सम्बन्धित उद्योगहरूलाई ती औषधिहरूको बिक्री तथा वितरण तुरुन्त रोक्न भनिएको छ।

विभागका अनुसार औषधिहरू उत्पादन गर्ने कम्पनीहरूलाई ती औषधिहरू तुरुन्त फिर्ता गरी त्यससम्बन्धी विवरण विभागमा पेश गर्न पनि निर्देशन दिइएको छ। साथै, ती औषधिहरूको सिफारिस, बिक्री तथा प्रयोग समेत नगर्न सार्वजनिक रूपमा अनुरोध गरिएको छ।

फिर्ता गरिनुपर्ने औषधिहरूमा रुपन्देहीको Siddhartha Pharmaceuticals Pvt. Ltd द्वारा उत्पादित व्याच नं: DPSC-3301 को Dopan-DSR, बाराको Supreme Healthcare Pvt. Ltd द्वारा उत्पादित व्याच नं: PAC-24052 को Pandom-DSR र बाराकै Arya Pharmalab Pvt. Ltd द्वारा उत्पादित व्याच नं: PFDC-01041 को Pantafast-DSR रहेका छन।

विभागले औषधि वितरण गर्ने एजेन्ट, फार्मेसी तथा अस्पतालहरूलाई पनि ती औषधिहरू प्रयोग नगर्न चेतावनी दिएको छ। स्वास्थ्य सुरक्षाका दृष्टिकोणले औषधिको गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने भएकाले यस्ता निगरानी कार्यलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!