विदेशिएको पुस्ता, बन्द हुँदै उद्योग : भक्तपुरमा उद्योगी–व्यवसायीको चिन्ता

भक्तपुर, ३ जेठ २०८२ः

“पुस्ता हस्तान्तरण गरौँ भने छोराछोरी विदेश छन्…” — भक्तपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले यही गुनासो व्यक्त गरे। नयाँ पुस्ता विदेशिएपछि सिकेको सीप कसलाई हस्तान्तरण गर्ने भन्ने चिन्ता उनीहरूले सार्वजनिक रूपमा पोखेका हुन्।

शनिबार उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत आयोजना गरेको जिल्लास्तरीय सरोकारवाला अन्तरक्रिया गोष्ठीमा यो विषय प्रमुख रूपमा उठेको हो। कार्यक्रममा प्रमुख अतिथि रहेका बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफ्नै प्रेस उद्योगमा समेत नेपाली कामदार नभएर भारतीय कामदार राख्नुपरेको बताउँदै, नेपाली युवा जनशक्तिको अभाव औंल्याए।

“नेपालमै काम गर्न मान्दैनन्”
“दैनिक २,००० देखि २,५०० युवाहरू विदेश गइरहेका छन्,” मन्त्री थापाले भने, “सक्ने अमेरिका, अस्ट्रेलिया जान्छन्, नसक्ने खाडी मुलुक जान्छन्। यसरी युवाशक्ति गुम्दै गए उद्योग सञ्चालनमा गम्भीर चुनौती आउँछ।”

उनले नेपालमा रहेको बेरोजगार युवालाई सीपमूलक तालिम दिई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे।

“कामदार छैन, उद्योग बन्द हुँदै”
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायकका प्रमुख रामप्रसाद कुस्माले भक्तपुरमा रहेका धेरै उद्योगहरू बन्द हुने स्थितिमा पुगेको बताए। उनका अनुसार, अनुदानको आशमा उद्योग दर्ता र नवीकरण गरिए पनि व्यवहारमा ती उद्योग सञ्चालन नभएको पाइएको छ।

“सिकाएको सिप कसलाई दिने ?”
अन्तरक्रियामा सहभागी उद्योगी–व्यवसायीहरूले आफूहरूले आर्जन गरेको सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेको तर नयाँ पुस्ता नै विदेशिएपछि त्यो सम्भव नभएको गुनासो गरे।

दुई दर्जनभन्दा बढी संघसंस्थाको सहभागिता
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, इँटा उद्योग संघ, जुजु धौ व्यवसायी संघ, घरेलु तथा साना उद्योग संघ, हस्तकला महासंघ लगायतका दुई दर्जनभन्दा बढी उद्योग–व्यवसायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, पत्रकार महासंघका प्रतिनिधिहरूले पनि राजनीति ठिक दिशामा नहिँड्दा युवाहरू निराश बनेको र विदेश पलायन बढेको तर्क गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!