वाटरल्यान्ड पार्कमा झडप : दस विद्यार्थी पक्राउ, पाँच प्रहरी घाइते

ढल्केबर, ३ जेठ २०८२ः

धनुषाको रमदैयास्थित वाटरल्यान्ड पार्कमा भएको झडपमा पाँच प्रहरी घाइते भएका छन् भने दस जना विद्यार्थी पक्राउ परेका छन्।

छिरेश्वरनाथ नगरपालिका–१ मा रहेको पार्कमा शनिबार ठूलो संख्यामा विद्यार्थी प्रवेश गरेपछि अवस्था तनावपूर्ण बनेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार वाटरल्यान्ड पार्कले कक्षा १२ का परीक्षार्थीहरूलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको थियो। सो अफरको फाइदा उठाउँदै सयौंको संख्यामा विद्यार्थी पार्क पुगेका थिए।

व्यवस्थापन र विद्यार्थीबीच विवाद, झडपमा परिणत
अत्यधिक भिड भएपछि पार्क प्रशासनले थप प्रवेशमा रोक लगाएको थियो। प्रवेश निषेधको निर्णयप्रति असन्तुष्ट विद्यार्थीहरू आक्रोशित भएपछि व्यवस्थापन र विद्यार्थीबीच वादविवाद सुरु भयो, जसले झडप र तोडफोडको रूप लियो। स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो। प्रहरी निरीक्षक यादवका अनुसार झडपका क्रममा पाँच प्रहरी घाइते भएका छन् भने अशान्ति मच्चाउने आरोपमा १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ।

अश्रुग्यास, सवारीसाधनमा तोडफोड
स्थिति नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। विद्यार्थीहरूले सडक अवरुद्ध गर्दै सवारीसाधनमा तोडफोड गरेका थिए। उनीहरूले पार्कको मुख्य गेट, छेउका संरचना र सजावटमा पनि क्षति पुर्‍याएका छन्।

घटनामा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा वाटरल्यान्ड पार्कका प्रबन्ध निर्देशक गुड्डु जैनसँग सम्पर्क हुन सकेन।

 तस्बिर : विजयकुमार साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!