काठमाडौं, ४ जेठ २०८२ः
नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद आज सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य विषयमा गम्भीर छलफल भयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनमा “संवादको शक्ति” को कुरा गर्दै जलवायु चुनौतीको सामना एक्लै होइन, मिलेर गर्नुपर्ने बताए। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यो संवादले “हिमालदेखि टापुसम्मका आवाज” जोड्न सफल भएको बताइन्।
विश्व सामु नेपालका कुरा
सरकारले सगरमाथा संवादमा उठेका कुरा अन्तर्राष्ट्रिय मञ्चमा पनि उठाउने जनाएको छ। ती मञ्चहरूमा ताजकिस्तानमा हुने हिमनदी सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभा, कोप–३० जस्ता ठूला कार्यक्रम पर्नेछन्।
तीन सय बढी सहभागी
संवादमा ३६ भन्दा बढी देशका प्रतिनिधिहरू, विज्ञ, सरकारी अधिकारी गरी करिब ३५० जना सहभागी थिए। १२ वटा फरक-फरक सत्रहरूमा हिमाल, समुद्र, हरित अर्थतन्त्र, जलवायु न्याय लगायत विषयमा छलफल भयो। हिन्दुकुश हिमालय क्षेत्रका मन्त्रीहरूको छुट्टै बैठक पनि भएको थियो।
सरकारको प्रतिबद्धता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका असरबाट पीडित नेपालले संवादमार्फत आफ्नो आवाज विश्वसामु पुर्याएको बताए। परराष्ट्र सचिव अमृतबहादुर राईले हिमालको कुरा अब विश्वको चासो बन्न थालेको भन्दै नेपालले सही दिशामा कदम चालेको बताए। सरकारले हरेक २ वर्षमा सगरमाथा संवाद गर्ने निर्णय पनि गरिसकेको छ।
कार्यक्रमको अन्त्यमा २५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै, जलवायु संकटसँग लड्न अन्तर्राष्ट्रिय सहयोग र समान पहुँचको माग गरियो।