बैंकिङ कसुर प्रमुख अपराधको सूचीमा शीर्ष स्थानमाः १० महिनामा ११ हजारभन्दा बढी मुद्दा दर्ता

काठमाडौं, ९ जेठ २०८२ः

नेपालमा बैंकिङ प्रणालीको दुरुपयोगमार्फत हुने अपराधले गम्भीर रूप लिन थालेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार पछिल्लो १० महिनाको अवधिमा सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरसम्बन्धी दर्ता भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार सो अवधिमा ११ हजार ४८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।

प्रहरीले छुट्ट्याएको प्रमुख १० प्रकारका अपराधमध्ये बैंकिङ कसुर पहिलो स्थानमा परेको हो। त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागुऔषध, चोरी, जबर्जस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह रहेका छन्।

प्रमुख १० अपराधसँग सम्बन्धित मुद्दा संख्यामा बैंकिङ कसुर – ११,०४८, सार्वजनिक हित/स्वास्थ्य/सुरक्षा – ६,८८४, लागुऔषध – ४,०४१, चोरी – २,९४०, जबर्जस्ती करणी – १,८२८, ठगी – १,७५०, सवारी ज्यान – १,५५७, ज्यान मार्ने उद्योग – ८९४ र बहुविवाह – ४५४ रहेका छन।

प्रहरीले दिएको जानकारी अनुसार समग्रमा ४६ हजार ८८९ वटा मुद्दा दर्ता भएका छन्। यसमध्ये ७८ दशमलव ५१ प्रतिशत मुद्दा माथि उल्लेखित प्रमुख १० अपराधसँग सम्बन्धित रहेका छन्।

प्रवक्ता थापाका अनुसार, पछिल्लो समय जनचेतना अभिवृद्धि, प्रहरीको सक्रियता र प्रहरी प्रतिको विश्वास बढेसँगै अपराधसम्बन्धी उजुरी दर्ता हुने क्रम पनि वृद्धि भएको छ। उनका अनुसार, नेपालमा औसतमा दैनिक १५६ वटा मुद्दा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ।

“अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय छ,” थापाले भने, “तर बैंकिङ कसुर जस्ता आर्थिक अपराधहरूले नयाँ चुनौती थपिरहेका छन्।” प्रहरीले प्रस्तुत गरेको विवरणले समाजमा आर्थिक तथा डिजिटल अपराधप्रतिको सचेतना र सतर्कता आवश्यक रहेको सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!