संघप्रतिको समर्पणको जीवन्त उदाहरणः सुना सुवेदी बडालको ऐतिहासिक निर्णय

काठमाडौं, ९ जेठ २०८२ः
रत्न काजि प्रजापति

कठिन समयमा साथ दिने साथी नै असली नेता हो भन्ने भनाइलाई चरितार्थ बनाउँदै, नेपाल पशुपन्छी औषधि व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सुना सुवेदी बडालले संघप्रतिको समर्पणको अद्वितीय उदाहरण प्रस्तुत गरेकी छिन्।

उनीमाथि न कुनै दबाब थियो, न कुनै आग्रह। तर पनि, आफ्नै नाममा रहेको किर्तिपुर नगरपालिकामा रहेको मूल्यवान ४ आना ३ पैसा १ दाम जग्गा उनले संस्थाको हितमा निःशुल्क दान गर्ने निर्णय लिइन्। “संघ भनेको मेरो आफ्नै परिवार हो, म यो संस्था बलियो होस् भन्ने चाहन्छु,” उनले भनिन्।

बडालको यो निर्णय केवल एकपटकको सहयोग होइन, दीर्घकालीन सोच र दायित्वबोधको प्रतिविम्ब हो। उनले जग्गासँग सम्बन्धित सम्पूर्ण आर्थिक भार आफैँले व्यहोरेर, संघलाई शून्य खर्चमा सो सम्पत्ति हस्तान्तरण गरिन्।

संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल भन्छन्, “उपाध्यक्ष बडालको योगदान संघको इतिहासमै एक कोशेढुंगा हो। उनीजस्ता नेतृत्वदायी व्यक्तित्वको साथले संस्था अझ मजबुत हुँदै जानेछ।”

यो कदमले न केवल संघलाई स्थायी भौतिक पूर्वाधारको आधार दिएको छ, बरु व्यवसायिक समुदाय भित्र ‘निजीभन्दा माथि सार्वजनिक’ सोच बिउँझाउने प्रेरणा पनि दिएको छ।

बडालको कर्मशीलता, समाजसेवाप्रतिको लगाव, र संस्थागत विकासप्रतिको प्रतिबद्धता आजको नेपालमा नेतृत्व कस्तो हुनुपर्छ भन्ने प्रश्नको स्पष्ट उत्तर जस्तै देखिन्छ।

नेपालको भेटेरिनरी क्षेत्रकै अग्रणी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका संचालक समेत रहनु भएका संघका केन्द्रिय उपाध्यक्ष बडाल बिभिन्न संघ संस्थाहरु मार्फत समाजिक क्षेत्रमा उतिकै सक्रिय हुनुहुन्छ।

बडालको उक्त कार्यको उच्च मुल्यांकन गर्दै संघका बिभिन्न शाखा कार्यसमितिहरुले बिज्ञप्ति मार्फत धन्यबाद ज्ञापन गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!