मध्यपुर थिमि, ९ जे्ठ २०८२ः
रत्न काजि प्रजापति
दक्षिण कोरियाको राजधानी सोल र बुसान शहरमा अवस्थित दुई प्रतिष्ठित अस्पतालमा व्यवस्थापन तथा सञ्चालन प्रणालीसम्बन्धी अध्ययन र अवलोकन भ्रमण सम्पन्न गरी मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ नेतृत्वको टोली आज नेपाल फर्किएको छ।

भ्रमण टोलीमा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. डि के रौशन, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। टोलीले अस्पताल सेवा प्रवाह, प्रशासनिक संरचना, प्रविधिको प्रयोग र जनशक्ति व्यवस्थापनका विविध पक्षमा प्रत्यक्ष अनुभव हासिल गरेको जनाएको छ।

भ्रमणको उद्देश्य नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको सेवा गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार सुधारात्मक कदमहरु तय गर्नु रहेको जनाइएको छ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भ्रमण उपयोगी र प्रेरणादायी रहेको भन्दै प्राप्त अनुभवलाई आफ्ना अस्पतालमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।