काठमाडौं, ९ जेठ २०८२ः
रत्न काजि प्रजापति
औषधि व्यवस्था विभागले बजारमा पाइने ‘Povine’ ब्रान्डको पोभिडोन आयोडिन (Povidone Iodine 10%) औषधि गुणस्तर परीक्षणमा असफल भएको भन्दै तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार, नियमित बजार अनुगमनको क्रममा संकलन गरिएका औषधि नमुनाको परीक्षण गर्दा क्युरेक्स फर्मास्युटिकल्स प्रा लि . (बनेपा-१०, काभ्रेपलाञ्चोक) द्वारा उत्पादित ब्याच नम्बर LPS5-023 का औषधिहरूले “IP 2022” मापदण्ड अनुसारको Assay Test मा उतीर्ण हुन नसकेको पुष्टि भएको हो।
सम्बन्धित ब्याच मे २०२४ मा उत्पादन भई अप्रिल २०२६ सम्म म्याद भएको जनाइएको छ। औषधिको गुणस्तर न्यून रहेको भन्दै विभागले औषधि ऐन, २०३५ को दफा १४ अनुसार विक्रि तथा वितरण तत्काल रोक्न र उक्त औषधि बजारबाट फिर्ता (Recall) गर्न निर्देशन दिएको हो।
विभागको आग्रह: प्रयोग नगर्नु र नगराउनुहोस्
विभागले उक्त औषधिको सिफारिस, विक्रि, वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ। साथै, उद्योग र तिनका प्रतिनिधिहरूलाई तुरुन्त फिर्ता गरिएको औषधिको विवरण विभागमा पेश गर्न समेत निर्देशन दिइएको छ।
बिभागले सुचना मार्फत आम सर्वसाधारण, स्वास्थ्यकर्मी, फार्मेसी व्यवसायी र औषधि आपूर्तिकर्ताहरूलाई सचेत रहन आग्रह गरेको छ।
