भक्तपुर, ८ जेष्ठ २०८२ः
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरको आयोजनामा एकदिने मोबाइल पत्रकारिता (मोजो) सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा भक्तपुर जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा मोजोमा चासो राख्ने नवप्रवेशी पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका प्रमुख श्री बासुदेव थापा थिए। प्रमुख अतिथि थापाले मोबाइल पत्रकारिता वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै आधुनिक सञ्चार माध्यमसँग तालमेल राख्दै पत्रकारहरूले समुदायको आवाज उजागर गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष शिल्पकारले प्रविधिको उपयोग गर्दै तथ्यपरक र प्रभावकारी पत्रकारिता गर्न मोबाइल पत्रकारिता उपयोगी हुने बताए।
कार्यक्रममा प्रशिक्षकको रूपमा सञ्चारकर्मी बिकास कार्कीले सहजीकरण गरेका थिए। उनले मोबाइल फोनकै माध्यमबाट समाचार संकलन, छायांकन, सम्पादन तथा प्रकाशनसम्मका विभिन्न विधिहरू व्यावहारिक रूपमा प्रस्तुत गरेका थिए। सहभागीहरूले मोजो पत्रकारिताको नयाँ पाटोबारे जानकारी लिँदै अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाको सहकार्य रहेको थियो। आयोजक संस्था नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्रविधिमैत्री पत्रकार उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।