राजपुरमा अनुगमन टोलीमाथिको आक्रमणप्रति नेपाल औषधी व्यवसायी संघको गम्भीर आपत्ति

काठमाडौँ, ८ जेठ २०८२:

रौतहटको राजपुर नगरपालिका–४ मा अनुगमनका क्रममा औषधि पसल निरीक्षणमा गएका राष्ट्रसेवकहरूमाथि भएको शारीरिक आक्रमणप्रति नेपाल औषधी व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ।

संघले जारी गरेको विज्ञप्तिमा औषधी सुपरभाइजर/सूचना अधिकारी ओम जैसवाल र अमर शर्मामाथि भएको आपराधिक आक्रमणको घोर निन्दा गरिएको छ। संघले उक्त घटनाले न केवल राष्ट्रसेवकहरूको मनोबल कमजोर पार्ने तर औषधि सेवा प्रणालीमा त्रासको वातावरण सिर्जना गर्ने र सम्पूर्ण औषधि व्यवसायीको मर्यादामा आँच पुर्‍याउने कार्य भएको ठहर गरेको छ।

५२ वर्षभन्दा लामो इतिहास बोकेको नेपाल औषधी व्यवसायी संघले औषधि ऐन, नियम, निर्देशिका तथा संविधानको पूर्ण पालना गर्दै उत्तरदायी ढंगले सेवा प्रदान गर्दै आएको जनाउँदै यस्ता आपराधिक घटनालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ।

संघका अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई छानबिनमार्फत कडा कानुनी कारबाहीको माग गरिएको छ। साथै, भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सेवा प्रदायक र सेवाग्राही दुवैलाई सुरक्षित वातावरण निर्माण गर्न सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय समक्ष राष्ट्रसेवक कर्मचारीलाई सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न जोडदार माग समेत अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!