मनसुनअघि नै महामारी रोकथामका तयारी: स्वास्थ्य मन्त्रालय सक्रिय

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा निर्णयात्मक बैठक, पूर्वतयारी थालनी

काठमाडौं, १३ जेठ २०८२ः

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुनजन्य विपद् तथा सम्भावित महामारी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ। वर्षायामसँगै बढ्न सक्ने विभिन्न रोग र सङ्क्रमणलाई समयमै नियन्त्रण गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आयोजित तयारी बैठकले महत्वपूर्ण निर्णयहरू गरेको हो।

स्वास्थ्य मन्त्री पौडेलले “विपद् आइसकेपछि मात्र तात्ने पुरानो परम्परालाई तोड्दै समयमै तयारी र प्रतिकार्य आवश्यक छ” भन्दै महामारीको सम्भावित जोखिम रोक्न अग्रिम कदम चाल्न सबै सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो।

महामारी नियन्त्रणमा बहुआयामिक तयारी

बैठकले महामारी रोकथामका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई अग्रसर बनाउने निर्णय गरेको छ। महाशाखाले सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै सरसफाइ, शुद्ध पानीको प्रयोग र आपूर्ति व्यवस्थापनमा काम अघि बढाउनेछ।

साथै, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले स्थानीय तहसम्म शुद्ध पानीको प्रयोग, सरसफाइ र संक्रमणबाट जोगिने उपायसम्बन्धी प्रभावकारी सूचनामूलक सामग्री सम्प्रेषण गर्न कार्य सुरु गर्ने भएको छ।

द्रुत प्रतिकार्य र मानव संसाधन परिचालन

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, महाशाखाले सबै स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरी वर्तमान तयारी अवस्थाको जानकारी लिने र आवश्यक उपाय अघि बढाउनेछ।

त्यस्तै, सातै प्रदेशमा रहेका तालिमप्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी आवश्यकता अनुसार खटाउने व्यवस्थासमेत गरिनेछ। यस क्रममा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसँग समन्वय गरी प्रतिक्रिया तथा व्यवस्थापनको काम थप सशक्त बनाइनेछ।

सङ्क्रामक रोग ऐन संशोधनको तयारी

बैठकले सङ्क्रामक रोग ऐन २०२० लाई बदलिँदो स्वास्थ्य चुनौती तथा आवश्यकता अनुसार संशोधन गर्नका लागि एक साताभित्र तयारी प्रतिवेदन तयार पार्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ।

मन्त्रालयको सक्रियता र बहुआयामिक समन्वयले यो वर्षको मनसुनमा सम्भावित स्वास्थ्य चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!