‘अनुभव, उर्जा र समन्वय मार्फत भेटेरिनरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता’
काठमाडौं, १३ जेठ २०८२ः
नेपाल भेटेरिनरी एसोसिएसनको आगामी अधिवेशन (जेठ १७ गते) नजिकिँदै गर्दा अध्यक्ष पदका लागि डा. केदार सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल केन्द्रिय कार्यसमितिमा महासचिवको जिम्मेवारी सम्हालिरहेका सुवेदीले आफ्नो कार्यकालमा न्यायोचित र प्रभावकारी ढंगले काम गरेको अनुभवलाई आधार बनाउँदै अब नेतृत्वदायी भूमिकाबाट भेटेरिनरी क्षेत्रको थप समृद्धिको लागि अघि बढ्ने बताएका छन्।
डा. सुवेदीले पेशागत हकहितको संरक्षण, विचाराधीन मुद्दाहरूको समाधान र अन्तर्राष्ट्रिय अधिकारको सुनिश्चितताको लागि निरन्तर संघर्षशील रहने प्रतिबद्धता जनाएका छन्। अनुभवी तथा ऊर्जाशील व्यक्तित्वका रूपमा परिचित उनले भेटेरिनरी क्षेत्रमा कार्यरत अग्रज र युवाबीच समन्वय कायम गर्दै ‘सेतु’को भूमिका निर्वाह गर्ने जनाएका छन्।
समावेशी कार्यक्रम र सेवा विस्तार
उम्मेदवार सुवेदीले देशव्यापी समावेशी कार्यक्रम सञ्चालन गर्ने, दुर्गम क्षेत्रहरूमा सेवा विस्तार र तालिमहरू सञ्चालन गर्ने योजना अघि सारेका छन्। यसले पशु स्वास्थ्य सेवा पहुँच नपुगेका क्षेत्रका किसानहरूलाई प्रत्यक्ष लाभ पुर्याउने उनको विश्वास छ।
शिक्षा, पारिश्रमिक र समन्वयमा जोड
गुणस्तरीय भेटेरिनरी शिक्षाको प्रवर्द्धन, उचित पारिश्रमिकको सुनिश्चितता र नेपाल भेटेरिनरी काउन्सिल सहित सम्बन्धित सबै संघसंस्थासँग समन्वय गर्दै नीति निर्माण प्रक्रियामा प्रभावकारी हस्तक्षेप गर्ने सुवेदीको लक्ष्य रहेको छ। साथै, उनले सरकारी सेवामा भेटेरिनरी क्षेत्रका विषयवस्तु समेट्ने योजनाहरू पनि सार्वजनिक गरेका छन्।
भेटेरिनरी क्षेत्रको बृहत्तर हितमा प्रतिबद्ध
‘अनुभव र ऊर्जाको संयोजन मार्फत बृहत्तर भेटेरिनरी क्षेत्रको हितमा काम गर्ने’ मूल मन्त्रसहित डा. केदार सुवेदीले यो अधिवेशनमा आफ्नो उम्मेदबारी दिएको जनाएको छ।