धनगढी, १४ जेठ २०८२ः
सुदूरपश्चिम प्रदेशका दर्तावाल पशु चिकित्सकहरूलाई लक्षित गरी धनगढीस्थित पशु सेवा तालिम केन्द्रको आयोजनामा तीन दिने ‘फिड फर्मुलेसन’ तालिम डा. विष्णु हरि पोखरेलको नेतृत्वमा सम्पन्न भएको छ। पशुपालन व्यवसायलाई वैज्ञानिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यका साथ सञ्चालित उक्त तालिम प्रदेशका ९ वटै जिल्लाबाट आएका १४ जना पशु चिकित्सकहरूका लागि ज्ञानवर्धक र व्यावहारिक अनुभव सँगाल्ने अवसर बनेको सहभागीहरूको प्रतिक्रिया छ।

जेठ ११ देखि १३ गतेसम्म सञ्चालित तालिममा डा. पोखरेलले प्रशिक्षकको भूमिका निर्वाह गर्दै पशुपन्छीको पोषण आवश्यकताको वैज्ञानिक विश्लेषण, कच्चा पदार्थको छनोट, गुणस्तर मापन र सन्तुलित दाना निर्माण विधि सम्बन्धी सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान प्रदान गर्नुभयो।

डा. पोखरेल नेपाल पोल्ट्री व्यवसायी मंचका सचिव हुनुका साथै कैलासपति एग्रोका कन्सल्ट्यान्ट र सुबि भेट कन्सर्न, नारायणघाटका अध्यक्ष पनि हुनुहुन्छ। बहुआयामिक अनुभव भएका डा. पोखरेलको प्रशिक्षणबाट सहभागीहरूले उद्योगसँग प्रत्यक्ष सम्बन्धित सीप, ज्ञान र प्रयोगात्मक समझ प्राप्त गरेको बताएका छन्।

तालिमकै क्रममा सहभागीहरूले वेस्टर्न फिड इन्डस्ट्रिजको स्थलगत भ्रमण गर्दै दाना उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गरेका थिए। सहभागीहरूको भनाइमा, डा. पोखरेलको प्रशिक्षण शैली र व्यवहारिक दृष्टिकोणले तालिमलाई अझ प्रभावकारी बनाएको थियो।
तालिमको शुभारम्भ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव शंकर साहको उपस्थितिमा भएको थियो भने समापन समारोहमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. पान सिंह ठगुन्ना प्रमुख अतिथि रहनु भएको थियो।
तालिम संयोजक दिलीप साहाका अनुसार यस किसिमका व्यवहारिक तालिमहरूले प्रदेशको पशुपालन व्यवसायलाई आत्मनिर्भर र आधुनिक बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
