युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने लक्ष्यमा सरकार दृढताका साथ उभिएको बताउँदै युवाहरूलाई उच्च मनोबल र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गर्नुभएको छ।

बागबजारस्थित ‘आइडिया स्टुडियो’ द्वारा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ शीर्षकको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी पुस्ता’स्टार्टअप कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “युवाहरूले जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुँदैन। राम्रो र परिवर्तनका लागि अग्रसर हुनुपर्ने हो। तर सामाजिक सञ्जालमा मात्र असन्तोष प्रकट गर्नु गलत हो — यसले पारिवारिक तनाव निम्त्याउँछ। अब युवाहरूले जब खोज्ने होइन, जब सिर्जना गर्ने बाटो रोज्नुपर्छ। स्वदेशमै अवसर छन् भन्ने देखाउँदै विदेश पलायन रोकिनुपर्छ।”

उहाँले उद्यमशीलता, बजारीकरण र नवप्रवर्तन मार्फत स्वदेशमै समृद्धिको सम्भावना प्रस्ट रहेको उल्लेख गर्दै, सरकार पूर्वाधार निर्माण (जस्तै सुरूङमार्ग, जलमार्ग) मा जुटिरहेको र सबै क्षेत्रको सहकार्यबाट समृद्ध नेपाल सम्भव हुने धारणा राख्नुभयो।

कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले आइडिया स्टुडियो को प्रवद्र्धनमा राखिएको स्वदेशी उत्पादन तथा नवआविष्कारहरूको प्रदर्शनी पनि अवलोकन गर्नुभयो।

यसैक्रममा आइडिया स्टुडियो का संस्थापक डा. छिरिङ लामा र काठमाडौँ मोडेल कलेजका अध्यक्ष रामेश्वर अर्यालले नवप्रवर्तनमा केन्द्रित युवा प्रयास र तिनका उपलब्धिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!