विराटनगर, २१ जेठ २०८२ः
स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते विराटनगरमा आयोजना हुने भएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा हुने सम्मेलनमा देशभरिका २९१ स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहनेछ। आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महानगरले उक्त जानकारी दिएको हो।
महानगरका अनुसार सम्मेलनको उद्देश्य संघीयता कार्यान्वयन, स्थानीय सरकार सञ्चालन, न्यायिक समितिको भूमिका तथा उपप्रमुख–उपाध्यक्षहरूको प्रभावकारी सहभागिता लगायतका विषयमा व्यापक छलफल र अन्तरक्रिया गर्नु हो।
महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मेलनले जनअपेक्षाअनुसार स्थानीय तहको प्रभावकारिता बढाउने विश्वास व्यक्त गर्दै यसको सफलताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। उहाँले कतिपय पालिकामा प्रमुख–उपप्रमुखबीच समन्वय अभाव देखिएको उल्लेख गर्दै यस्तो सम्मेलनबाट सहकार्यको वातावरण निर्माण हुने अपेक्षा व्यक्त गर्नुभयो।
महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले सम्मेलनमा संघीयताको प्रभावकारी कार्यान्वयन, स्थानीय तह सञ्चालनका चुनौती र समाधानका उपायहरूमा केन्द्रित छलफल हुने जानकारी दिइन्। साथै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन उद्घाटन गरिने पनि जानकारी दिइन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले सम्मेलनको संरचना र विषयवस्तुको महत्त्वमाथि प्रकाश पारेका थिए। महानगरले आर्थिक वर्ष २०८१/८२ को बजेटमै सम्मेलन आयोजना गर्ने लक्ष्यसहित कार्यक्रम राखेको थियो। सम्मेलन विराटनगरस्थित विरेन्द्र सभागृहमा हुनेछ। सम्मेलन सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा १० लाख रुपैयाँ कोशी प्रदेश सरकारले उपलब्ध गराउने मेयर कोइरालाले जानकारी दिनुभयो।