पर्सा, २०८२ जेठ २४ः
शिब बराल
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ७५ कार्टुन प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ती चल्लाहरू तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लोड गरी चोरी पैठारीमार्फत नेपाल भित्र्याइँदै थिए। नियन्त्रणमा लिइएका चल्लाहरू स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सशस्त्र प्रहरी गण नं. १३ को परिसरभित्र नष्ट गरिएको हो।
यस कार्यमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरू भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालयमा बुझाउने तयारीमा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
सूचना अधिकारी सिंहका अनुसार, देशको खुला सीमाका कारण कुखुराका चल्ला, कुखुरा, मासु तथा अण्डाजस्ता पोल्ट्रीजन्य वस्तुहरू अवैध रूपमा आयात हुने समस्या दिनप्रतिदिन बढ्दो छ। यस्तो चोरी पैठारीका कारण राजस्व चुहावट हुनुका साथै पशुपंक्षी रोग संक्रमण फैलिने जोखिम पनि उच्च हुने भएकाले सुरक्षा निकायहरू यस्ता गतिविधि रोक्न सक्रिय रूपमा निगरानीमा रहेको बताइएको छ।