सूर्यविनायक–८ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भक्तपुर, २८ जेठ २०८२ः

सूर्यविनायक नगरपालिका वडा नं. ८ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सञ्चार केन्द्र नेपालले आयोजना गरेको र सूर्यविनायक नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

डोलेश्वर मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडामा हालसम्म सम्पन्न विकास निर्माणका गतिविधिहरूको समग्र विवरण प्रस्तुत गरे। प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले वडामा हाल ७० करोड बराबरको विकास निर्माण कार्य भइरहेको जानकारी गराए। उनले सेवा प्रवाह, राजस्व व्यवस्थापन, तथा पछिल्लो वर्षका उपलब्धिहरूबारे विस्तृत जानकारी दिए।

धार्मिक, सांस्कृतिक तथा कृषि सम्भावनायुक्त डोलेश्वरधाम क्षेत्र समेटिएको वडा नं. ८ लाई शान्त, हरियाली र ऐतिहासिक बनाउने उद्देश्यका साथ अघि बढाइएको योजना र कार्यान्वयन प्रगतिबारे छलफल गरिएको थियो।

कार्यक्रममा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, अन्जना नेपाली, वडा सचिव प्रतिभा लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष बस्नेत र सूर्यविनायक नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेले दिए।

कार्यक्रमको स्वागत मन्तव्य राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले व्यक्त गरेका थिए भने सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए। पत्रकार दिवस गुरागाईंले सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे प्रारम्भिक मन्तव्य दिएका थिए।

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष आचार्यले वडालाई लिखित सुझाव तथा सल्लाहहरू हस्तान्तरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!