मातृभाषा पत्रकारिताको सवाल – कृष्ण प्रजापति

गोरखापत्र दैनिक पत्रिका प्रकाशन हुनु भन्दा अगाडि नै युगकवि सिद्धिचरण श्रेष्ठ सम्पादक भएर कुनै समय ‘युगसुधा’ नामक खस नेपाली भाषामा दैनिक पत्रिका प्रकाशन गरिएको पाइन्छ। तर नेपालमा गैर-खस भाषाको पहिलो पत्रिका भने ‘बुद्ध धर्म व नेपालभाषा’ हो, जुन भारतको बनारसबाट प्रकाशित भएको थियो। नेपालमा तानाशाही राणा शासनका कारण लेख्न, बोल्न वा अभिव्यक्त गर्ने स्वतन्त्रता नभएकोले, जागरुक युवाहरुले विदेशमा बसेर यस्ता कदम चाल्नुपरेको थियो।

‘बुद्ध धर्म व नेपालभाषा’ पत्रिकाको माध्यम नेपालभाषा (नेवारी) थियो। त्यसैले पनि नेपालमा आदिवासी जनजातिहरूले मातृभाषामा पत्रकारिता सुरु गरेको प्रमाणित हुन्छ। धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) को सम्पादनमा प्रकाशित उक्त पत्रिका नेपालमा सम्भव नभएकाले भारतको कलकत्ता वा बनारसमा प्रकाशन गरिएको थियो। तर पनि उक्त पत्रिकाले नयाँ पुस्तालाई साहित्य, भाषा र मौलिक धर्म-संस्कृतिप्रति जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

आज उक्त पत्रिका प्रकाशित भएको १०१ वर्ष पुगिसकेको छ। यस आधारमा नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको पनि १०१ वर्ष पुगेको हो। यस श्रेय ‘बुद्ध धर्म व नेपालभाषा’ पत्रिका र सम्पादक धर्मादित्य धर्माचार्यलाई जान्छ।

राणा शासनको अन्त्यपछि २००७ सालमा प्रजातन्त्रको स्थापनासँगै उक्त पत्रिकाले केही समय निरन्तरता पायो। पछि पत्रिकाको नाम ‘नेपालभाषा’ मात्र राखी फत्तेबहादुर सिंह, माणिकलाल श्रेष्ठ, पद्मरत्न तुलाधर लगायतका भाषासेवी तथा बुद्धिजीवीहरुले निरन्तरता दिए। आज त्यसको निरन्तरताको रुपमा ‘विश्वभूमि’, ‘सन्ध्या टाइम्स’ र ‘नेपालभाषा टाइम्स’ जस्ता पत्रिकाहरू अगाडि बढेका छन्। अहिले पनि जब मातृभाषा पत्रकारिताको कुरा उठ्छ, तब ‘बुद्ध धर्म व नेपालभाषा’ पत्रिकाको चर्चा गरिन्छ।

कतिपय जागरुक युवाहरूले संस्थागत रूपमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन समेत आयोजना गरिरहेका छन्। त्यस्ता सम्मेलनहरूमा धर्मादित्य धर्माचार्यदेखि सुरेशकिरण मानन्धरसम्मका अग्रज सम्पादकहरूको योगदानको चर्चा गरिन्छ।

यो भए नेपालभाषा पत्रकारिताको प्रसंग। त्यसैगरी मैथिली, भोजपुरी, तामाङ, अवधि आदि भाषाहरूबाट प्रकाशित पत्र-पत्रिका तथा साहित्यको आफ्नै विशेषता छ। नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ विभिन्न मातृभाषामा पत्रिका प्रकाशन भइरहेका छन्। जब व्यक्तिले आफ्नै मातृभाषामा अभिव्यक्ति दिन्छ, त्यो अन्य भाषाभन्दा बढी प्रभावशाली र स्पष्ट हुन्छ। बुझ्नेहरूका लागि पनि मातृभाषामा संप्रेषण बढी प्रभावकारी हुन्छ।

यही विषयमा भाषासेवी जगतसुन्दर मल्लले भनेका थिए: “चाँडो शिक्षा लिनु छ भने मातृभाषाबाट लिनुपर्छ।” त्यसैले आजभन्दा सय वर्ष अघि अनुवाद भएको ‘ईसपं दयेकातःगु बाखं’, शहीद शुक्रराज शास्त्रीको ‘नेपालभाषा व्याकरण’, ‘बुद्ध धर्म व नेपालभाषा’ पत्रिका तथा ‘धर्मोदय’ पत्रिकाको सन्दर्भ हरपल चर्चा गरिन्छ।

मातृभाषी समुदायहरूले राज्यबाट भाषिक मान्यता माग गर्दा वेवास्ता गरिँदा पाकिस्तानबाट अलग भई बंगलादेश बनेको उदाहरण पनि उल्लेख गर्न सकिन्छ। यसले देखाउँछ, भाषाप्रति जनताको मोह कति बलियो हुन्छ। यही सन्दर्भमा फेब्रुअरी २१ तारिखमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइन्छ, जुन बंगलादेशमा सफल मातृभाषा आन्दोलनको सन्दर्भमा संयुक्त राष्ट्रसंघले २५ वर्षअघि मान्यता दिएको हो।

बंगलादेश, भारत, म्यानमार (बर्मा) र नेपालमा अगाडि बढेको मातृभाषा जागरण अभियान आज अन्तर्राष्ट्रिय बनिसकेको छ। दक्षिण एसियाली राष्ट्रहरूमा मातृभाषा पत्रकारिता सम्बन्धी संगठनहरू गठन भइसकेका छन् र ती संगठनहरूले संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय मञ्चमा समेत उपस्थिति जनाइरहेका छन्।

नेपालमा पनि प्रेस काउन्सिल नेपालले मातृभाषा पत्रकारितालाई मूल्यांकन गर्ने गरेको छ। गोरखापत्र राष्ट्रिय दैनिकले २०६४/०६५ सालदेखि सुरु गरेको समावेशी अंक अहिले ४५ भाषामा फैलिएको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनले पनि मातृभाषा कार्यक्रमहरू प्रशारण गर्ने गरेका छन्। एक सय पैंतालीस भाषा भएको नेपालमा यस्तो समावेशीता लोकतन्त्र र गणतन्त्रकै उपलक्ष्य हो।

नेपालभाषाबाट सुरु भएको मातृभाषा पत्रकारिता अहिले विभिन्न भाषामा फैलिएको छ। नेपालभाषा पत्रकारहरूको संगठन ‘नेवाः पत्रकार राष्ट्रिय दबू’ ले दुईपटक अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न गरिसकेको छ। अब आदिवासी जनजाति पत्रकार महासंघले तेस्रो सम्मेलन गर्ने तयारी गरिरहेको छ।

यस सन्दर्भमा मातृभाषा पत्रकारहरू अझ जागरुक, संगठित र सचेत हुनुपर्ने आवश्यकता छ। चुनौतीहरूलाई सामना गर्दै नयाँ कार्ययोजना निर्माण गर्नु आवश्यक छ। दक्षिण एसियाली मातृभाषी पत्रकारहरूको संगठनले यो नेतृत्व लिनुपर्ने बेला आएको छ।

यस वर्ष सात विषयमा छलफल गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न भएको छ र सात बुँदे घोषणापत्र जारी गरिएको छ। यसबाट मातृभाषा पत्रकारिता सही मार्गमा अगाडि बढिरहेको अनुभूति हुन्छ। अब यसलाई अझ अन्तर्राष्ट्रिय मान्यता दिलाउन मातृभाषी पत्रकारहरूले संगठित रुपमा अघि बढ्न जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!