चितवनमा पोल्ट्री रोगबारे अन्तरक्रिया कार्यक्रमः समस्या र समाधानबारे डा. विष्णुहरी शर्माको गहकिलो सुझाव

भरतपुर चितवन, ६ असार २०८२ः

नेपाल कुखुरा व्यवसायी मञ्च र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनको संयुक्त आयोजनामा भरतपुरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा चितवन, नवलपरासी (ब.सु.पू.) र मकवानपुर क्षेत्रका कुखुरामा देखिने रोगहरूको अवस्था, चुनौती र समाधानबारे गहन छलफल भएको छ।

अन्तरक्रिया कार्यक्रममा कुखुरा व्यवसायी मञ्चका सचिव डा. विष्णुहरी शर्माले पोल्ट्री व्यवसायले मुलुकको कुल ग्राहस्थ उत्पादनमा झन्डै तीन प्रतिशत योगदान दिँदै आए पनि यस क्षेत्रले निरन्तर उपेक्षा भोगिरहेको बताउनुभयो। उहाँले अझैसम्म केन्द्रीय वा प्रदेशस्तरमा पोल्ट्री विकास बोर्ड गठन नभएको, पशु स्वास्थ्य ऐन र नियमावली पुराना भएर आजको अवस्था सुहाउँदो नभएको औल्याए। पोल्ट्री व्यवसायमा सबैभन्दा बढी लागत दानामा लाग्ने भए पनि त्यसका लागि आवश्यक मकै, भटमासजस्ता कच्चा पदार्थ स्वदेशमै पर्याप्त उत्पादन नहुनु र आयात गर्दा भन्सार र कृषि सुधार शुल्कले लागत वृद्धि हुनु अर्को चुनौती भएको उहाँको भनाइ थियो।

खुला सिमानाका कारण अवैध रूपमा चल्ला, अण्डा, मासु र दाना भित्रिने क्रम बढ्दो रहेको र यसले स्वदेशी व्यवसायलाई धरापमा पारिरहेको उहाँको भनाइ थियो। यस्तै, पोल्ट्री क्षेत्रमा प्रयोग हुने मेशिन, उपकरण र भाँडावर्तन सहज रूपमा उपलब्ध नभएको, भ्याक्सिनको अभाव रहेको र वित्तीय लगानी पनि जटिल र कठिन प्रक्रियाबाट मात्र सम्भव हुने अवस्था रहेको उहाँले बताउनुभयो। व्यवसायको प्रवर्द्धनमा राज्यको संचार संयन्त्र सक्रिय नहुनु, शीत भण्डारण र पशु बधशाला जस्ता आधारभूत पूर्वाधारको अभाव र एभिएन इन्फ्लुएन्जा जस्ता संक्रामक रोग नियन्त्रणमा स्पष्ट नीति नहुनु पनि थप चुनौती भएको डा. शर्माले बताए।

यी समस्याको समाधानका लागि उहाँले केन्द्रीय तथा प्रदेशस्तरमा पोल्ट्री विकास बोर्ड गठन गर्नुपर्ने, पशु स्वास्थ्य सम्बन्धी ऐन तथा नियमावलीलाई समयसापेक्ष संशोधन गर्नुपर्ने र दानाका कच्चा पदार्थ स्वदेशमै उत्पादन बढाउन विशेष प्रोत्साहन दिनुपर्ने धारणा राख्नुभयो। साथै, विदेशबाट आयात गरिने कच्चा सामग्रीमा लाग्ने भन्सार तथा शुल्क छुट गर्नुपर्ने, खुला सीमामा निगरानी मजबुत बनाइनुपर्ने र पोल्ट्री व्यवसायीका लागि सहज र सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने सुझाव उहाँले दिनुभयो।

पोल्ट्री व्यवसायका लागि आवश्यक मेशिन र सामग्रीमा भन्सार छुटको व्यवस्था, रोगअनुसार आवश्यक खोपको सुनिश्चितता, सरकारी संचार माध्यममार्फत व्यवसाय प्रवर्द्धन, पोल्ट्री पकेट क्षेत्रहरूमा शीत भण्डारण र बधशालाको स्थापना तथा एभिएन इन्फ्लुएन्जा नियन्त्रणका लागि स्पष्ट खोप नीति लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!