पोल्ट्री प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्नः कुखुरामा देखिने रोग, समस्या र समाधानबारे गहिरो छलफल

चितवन, ६ असार २०८२ः
शिब बराल

नेपाल कुखुरा व्यवसायी मञ्च र राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनको संयुक्त आयोजनामा “चितवन तथा त्यससँग सम्बन्धित नवलपरासी (ब.सु.पू.) र मकवानपुर जिल्लामा कुखुरामा देखिने रोगहरूको वर्तमान अवस्था : समस्या, चुनौती तथा समाधानका उपायहरू” विषयक एक दिवसीय पोल्ट्री प्राविधिक अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, काठमाडौंकी श्रीमती सरिता गौतम, केन्द्रीय भेटेरिनरी प्रयोगशाला, काठमाडौंका वरिष्ठ पशुचिकित्सक डा. अर्जुन अर्याल, पशु सेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. चन्द्र ढकाल, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख श्री सुशील के.सी. विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रमको प्रारम्भमा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख तथा वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठले प्रयोगशालाबाट सञ्चालित गतिविधिहरू, पोल्ट्री क्षेत्रमा देखा पर्ने प्रमुख रोगहरू, तिनको नियन्त्रण र रोकथामको अवस्था तथा प्रयोगशालालाई थप व्यवस्थित बनाउन आवश्यक विषयहरूमा कार्यपत्र प्रस्तुत गर्नुभयो।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा. अनन्त दाहालले पोल्ट्री व्यवसायमा हालसम्म देखा परेका रोगहरू, रोकथामका लागि गरिएका प्रयासहरू र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरू प्रस्तुत गर्नुभयो।

नेपाल कुखुरा व्यवसायी मञ्चका सचिव डा. विष्णुहरी शर्माले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि राज्यले लिनुपर्ने नीति, योजनाको खाका प्रस्तुत गर्दै पोल्ट्री व्यवसायसँग जोडिएका समस्या र समाधानका उपायहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। सो कार्यपत्र उहाँले पशु सेवा विभागका महानिर्देशकसमक्ष हस्तान्तरण पनि गर्नुभयो।

कार्यपत्र प्रस्तुति पछि भएको छलफल सत्रमा केन्द्रीय प्रयोगशालाका डा. अर्जुन अर्याल, नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेशका अध्यक्ष डा. निमेष खनाल, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख श्री सुशील के.सी., कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा. जीवन अधिकारी लगायत वक्ताहरूले पोल्ट्री क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक रणनीति र भूमिका स्पष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि डा. रामनन्दन तिवारीले पोल्ट्री क्षेत्रको समृद्धिका लागि नेपाल सरकार तथा पशु सेवा विभाग प्रतिबद्ध रहेको स्पष्ट पार्दै नीति निर्माणमा निजी क्षेत्र, अनुसन्धान संस्थान, विश्वविद्यालय र पशु चिकित्सकहरूको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले पोल्ट्रीसँग सम्बन्धित नीति तथा नियममा सुधार आवश्यक रहेको बताउँदै त्यसका लागि सरोकारवाला निकायहरूसँगको परामर्शमा नीति तर्जुमा गरिने जानकारी दिनुभयो।

कार्यक्रमको अन्त्यमा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टले पशु सेवा विभागमा हालै नियुक्त महानिर्देशक डा. रामनन्दन तिवारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सम्मान गर्नुभयो। अध्यक्ष भट्टले कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउँदै पोल्ट्री क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, सञ्चारमाध्यम तथा पशु चिकित्सकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

कार्यक्रमको सञ्चालन नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय सदस्य कपिलबावु खनालले गर्नुभएको थियो। कार्यक्रममा पोल्ट्री व्यवसायसँग सम्बन्धित संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, सरकारी निकायका प्रतिनिधिहरू, विश्वविद्यालयका सहप्राध्यापकहरू, पशु चिकित्सकसहित ३३ जनाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!