वीरगञ्जमा कुखुरापालन सम्बन्धी विशेष गोष्ठि, विज्ञहरूद्वारा छुट्टाछुट्टै विषयमा प्रस्तुति

वीरगञ्ज, ७ असार २०८२ः

नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेशको आयोजनामा वीरगञ्जमा आज एक दिने विशेष गोष्ठि सम्पन्न भएको छ। “कुखुराको मासुबाट प्राप्त हुने राम्रो गुणस्तरको प्रोटिन: यसको महत्व, व्यवस्थापन, व्यापार र उत्तम अभ्यासहरू” विषयमा केन्द्रित गोष्ठिमा कुखुरापालन क्षेत्रका विविध पक्षबारे विज्ञहरूले छुट्टाछुट्टै प्रस्तुति दिएका थिए।

नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारीले उदघाटन गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), रामपुरका प्राध्यापक प्रा. डा. सुविर सिंह हुनु हुन्थ्यो। उक्त कार्यक्रममा पशु चिकित्सक, किसान, व्यवसायी, प्रविधिक तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कुखुरापालनका चुनौती र समाधानमा डा. सुविर सिंहको प्रस्तुतिः

प्रमुख अतिथि प्रा. डा. सुविर सिंहले कुखुरापालन क्षेत्रमा देखा परिरहेका समसामयिक चुनौतीहरूबारे वैज्ञानिक विश्लेषण प्रस्तुत गर्दै खोर व्यवस्थापन, पोषण, रोग नियन्त्रण र वातावरणीय प्रभावहरूबारे तथ्यपरक जानकारी दिनुभयो। उहाँले उत्पादन वृद्धिमा प्रविधिको प्रयोग र व्यवसायिकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

रोग नियन्त्रण र व्यवस्थापनमा डा. अजित झाको धारणाः

राष्ट्रिय कृषि अनुसन्धान परिषद् (NARC), परवानीपुरका वैज्ञानिक डा. अजित झाले कुखुरा व्यवसायमा रोग नियन्त्रण, तालिमको प्रभावकारिता र व्यापार व्यवस्थापनका पक्षमा केन्द्रित प्रस्तुति दिनुभयो। उहाँले क्षेत्रीय तालिम, अनुगमन प्रणाली र वैज्ञानिक साझेदारीको आवश्यकतामाथि प्रकाश पार्नुभयो।

संघसंस्थाको भूमिकामाथि डा. रेवन्त भट्टराईको विश्लेषणः

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका प्राध्यापक तथा नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्त भट्टराईले कुखुरा व्यवसायमा संघसंस्थाहरूको भूमिका विषयमा आफ्ना विचार राख्नुभयो। उहाँले नीति निर्माणमा प्रभाव, बजार पहुँच, गुणस्तर नियमन र निजी-सरकारी सहकार्यलाई व्यवसायको स्थायीत्वको आधारका रूपमा औंल्याउनुभयो।

सहकार्य र भावी योजना प्रस्तुत गर्दै डा. तिवारीः

कार्यक्रमको समापन सत्रमा नेपाल भेटेरिनरी एशोसिएसन, मधेश प्रदेश अध्यक्ष डा. दिनेश कुमार तिवारीले सहकार्यका सम्भावनाहरू, नीति समन्वय तथा भविष्यमा पशुपालन क्षेत्रको समृद्धिका लागि संगठनले अवलम्बन गर्ने योजनाहरूबारे प्रस्तुत गर्नुभयो। उहाँले सीमापार समन्वय, औषधि व्यवसायको नियमन र सीप अभिवृद्धिमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन तथा धन्यवाद ज्ञापन नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशका सह-सचिव डा. सुदिप कुमार शर्माले गर्नुभएको थियो।

गोष्ठिको निष्कर्ष र उपलब्धिः

गोष्ठिमा प्रस्तुत विषयगत कार्यपत्रहरूबाट वैज्ञानिक तथा व्यवसायिक दृष्टिकोणमा आधारित महत्वपूर्ण विश्लेषणहरू प्रस्तुत गरिए। वक्ताहरूले गुणस्तरीय कुखुरा मासु उत्पादन, रोग नियन्त्रण, व्यवस्थापन र व्यापारका पक्षमा सहकार्य आवश्यक रहेको स्पष्ट पारे। कार्यक्रमले सरोकारवालाबीच अनुभव आदानप्रदान र सहकार्यको नयाँ सम्भावनाको ढोका खोलेको सहभागीहरूको धारणा थियो।

यसै सन्दर्भमा, आगामी दिनमा संयुक्त तालिम र कार्यशाला सञ्चालन गर्ने तयारीसमेत गरिएको आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!