राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण: राष्ट्रपति पौडेलद्वारा कृषि क्षेत्रको भूमिकामा जोड

काठमाडौं, १० असार २०८२ः

राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिएका उत्कृष्ट कृषकहरूलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्दै नेपालमा रोजगारी सिर्जनाका लागि कृषि व्यवसायले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने धारणा राख्नुभएको छ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीतर्फ आकृष्ट भइरहेका युवाहरूलाई नेपालमै रोजगार दिने वातावरण बनाउन कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकरण अपरिहार्य भएको उल्लेख गर्नुभयो।

समारोहमा देशका सातै प्रदेशका उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा कोशी प्रदेशका सुरेश कुमार मेहता (आर्य कृषि फर्म), रमेश साह (रमेश कृषि फर्म), मधेश प्रदेशका भरत कुमार यादव (शम्भुनाथ माछा फार्म),हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रिकल्चर फार्म), बागमती प्रदेशका चेत प्रसाद ढकाल (श्री कालिका पशु विकास केन्द्र), दयाराम मचामसी (श्री ग्रिनलाइन एग्रो प्रालि), गण्डकी प्रदेशका छिरिङ गुरुङ (ङवाङहिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म), बाटुली तिवारी (श्री मित्र बाटिका कृषि फर्म), लुम्बिनी प्रदेशका जयपाल मौर्य, सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म प्रालि), कर्णाली प्रदेशका गोविन्द ओली, भरतनाथ योगी,सुदूरपश्चिम प्रदेशका प्रेम प्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म), लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि) रहेका छन।

राष्ट्रपति पौडेलले कृषकहरूलाई पुरस्कृत गर्नुको अर्थ केवल सम्मान मात्र नभई, कृषि व्यवसायप्रतिको राष्ट्रिय आशा र अपेक्षाको संकेत रहेको बताउनुभयो। उहाँले बजार, प्रविधि, बीमा, सहुलियत कर्जा लगायतका विषयमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रपति पौडेलले कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको समन्वित विकासबाट नै आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!