काठमाडौं, ११ असार २०८२:
नेपाल भेटेरिनरी एशोसिएसनले आज आफ्नो ५८औं स्थापना दिवस विभिन्न कार्यक्रमहरू गरी देशभर मनाइरहेको छ। बि. स. २०२४ साल असार ११ गते स्थापना भएको यो संस्था अहिले नेपालभरका भेटेरिनरी पेशामा आवद्ध चिकित्सकहरूको साझा संगठनको रुपमा स्थापित भएको छ।
स्थापना दिवसको अवसरमा केन्द्रिय अध्यक्ष डा. केदार सुवेदीले शुभकामना सन्देश जारी गर्दै देशभर क्रियाशील सम्पूर्ण भेटेरिनरीयनहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले बदलिंदो समयसँगै पेशागत चुनौतीहरूको सामना गर्न एकताबद्ध भएर व्यावसायिक हकहितको संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील रहनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
डा. सुवेदीले पेशाको गरिमा, आचरण र सेवा भावलाई उच्च राख्दै अग्रज र अनुजबीचको ज्ञान, सीप र अनुभव साटासाट गर्ने परम्परालाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत जनाउनुभयो।
संस्थाको ५८औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय समिति तथा सातै प्रदेश समितिहरूले विविध कार्यक्रमहरूको आयोजना गरिरहेका छन्। यसमा भेटेरिनरी व्यवसायमा आवद्ध सबै चिकित्सकहरूको सक्रिय सहभागिता अपेक्षित गरिएको छ।
नेपाल भेटेरिनरी एशोसिएसनले पशुपन्छी स्वास्थ्य सेवा तथा पशुपालन व्यवसायको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। आजको दिनले भेटेरिनरी पेशालाई अझ सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना संस्थाले गरेको छ।
