विद्यालयहरूमा स्कुल बक्सिङको महत्व: राजन विक्रम प्रजापति

नेपालमा मात्र होइन, विश्वभर नै घट्दो शारीरिक सक्रियता र बढ्दो मानसिक स्वास्थ्य समस्याहरूका कारण युवावस्थामै मोटोपन, तनाव, चिउडोपन, आत्मविश्वासको कमी जस्ता समस्याहरू देखिन थालेका छन्। यस्तो अवस्थामा विद्यालयमा खेलकुद शिक्षालाई मात्र ‘अतिरिक्त क्रियाकलाप’को रूपमा होइन, शैक्षिक पाठ्यक्रमको एक अनिवार्य हिस्सा बनाउनुपर्छ भन्ने बहस अहिले निकै सान्दर्भिक बनेको छ।

विद्यालय पाठ्यक्रममा खेलकुदलाई समावेश गर्दा विद्यार्थीको शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक लचिलोपन, आत्मअनुशासन, आत्मरक्षा र समग्र व्यक्तित्व विकासमा समेत मद्दत पुग्दछ।

नेपालका विद्यालयहरूमा फुटबल, कराते, तेक्वान्दो, टेबलटेनिस लगायतका खेलहरू पहिलेदेखि नै पढाइ र अभ्यास हुँदै आएका छन्। तर बक्सिङ भने विद्यालयस्तरमा भर्खरै प्रवेश गर्दै गरेको नयाँ र प्रभावकारी खेल हो। बक्सिङले आत्मरक्षा, अनुशासन, आत्मनियन्त्रण र स्वस्थ जीवनशैलीमा आधारित जीवन पद्धति विकास गर्न सहयोग गर्छ।

बक्सिङ एक वैज्ञानिक खेल हो, जहाँ शरीरको ताकतसँगै दिमागको रणनीति र संयमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। रिङभित्र प्रतिद्वन्द्वीमाथि रणनीतिक रूपमा नियन्त्रण कायम गर्नु नै यसको मूल कौशल हो। बक्सिङ ओलम्पिकमा समावेश लोकप्रिय खेल मात्र नभई विश्वभरि धेरै चलचित्रहरू यसैमा आधारित भएर निर्माण भएका छन्, जुन यसको लोकप्रियताको प्रमाण हो।

इतिहास र नेपालमा विकास

बक्सिङको सुरुवात प्राचीन सभ्यताबाट भएको मानिन्छ। इजिप्ट, ग्रीस र रोमन सभ्यतामा यो खेल अभ्यास गरिएको इतिहास पाइन्छ। आधुनिक बक्सिङको आधार १८६७ मा ‘क्वीन्सबेरी नियम’ आएपछि बन्यो, जसले खेललाई सुरक्षित र व्यवस्थित बनायो।

नेपालमा बक्सिङको औपचारिक सुरुवात १९६१ तिर स्व. लक्ष्मण शमशेर थापाद्वारा कमलपोखरी बक्सिङ क्लब स्थापना गरी भएको मानिन्छ। १९६४ को टोकियो ओलम्पिकमा नेपालले बक्सिङ खेलमार्फत आफ्नो ओलम्पिक डेब्यु गरेको थियो। नाम सिंह थापा, भीम बहादुर थापा, राम प्रसाद गुरुङ र ओम प्रसाद पुनजस्ता खेलाडीहरू बक्सिङमा नेपालको प्रारम्भिक गौरव हुन्।

बक्सिङको वास्तविकता र भ्रम

सामान्यतया बक्सिङलाई आक्रामक वा हिंसात्मक खेलको रूपमा बुझ्ने गरिन्छ। तर यो धारणा पूर्णरूपमा भ्रम हो। वास्तविकतामा बक्सिङ आत्मनियन्त्रण, धैर्यता, अनुशासन, मानसिक एकाग्रता र प्रतिपक्षप्रतिको सम्मान सिकाउने खेल हो। विशेषगरी स्कुल बक्सिङ कार्यक्रमहरू प्रतियोगितात्मक भिडन्त होइन, शैक्षिक उद्देश्यमा केन्द्रित हुन्छन्।

स्कुल बक्सिङ कार्यक्रमहरूमा स्याडो बक्सिङ, प्याड वर्क, ब्याग वर्क, फुटवर्क जस्ता गैर-सम्पर्क अभ्यासहरू गरिन्छ। उमेर, शारीरिक क्षमता, र मानसिक तयारीको आधारमा प्रशिक्षकहरूले विद्यार्थीलाई चरणबद्ध रूपमा मार्गदर्शन गर्छन्।

स्वास्थ्य र मानसिक लाभ

बक्सिङले युवाहरूमा शारीरिक तन्दुरुस्ती, मांसपेशीको बल, हृदय स्वास्थ्य, लचिलोपन, र स्फूर्ति विकास गर्न मद्दत गर्दछ। मानसिक रूपमा पनि यो खेल तनाव नियन्त्रण, आवेग व्यवस्थापन, र कठिन परिस्थितिमा निर्णय क्षमता विकासमा सहयोगी हुन्छ।

बक्सिङ जस्तो खेलले विद्यार्थीलाइ अनुशासनमा राख्न, समयको मूल्य बुझ्न, कठिन परिश्रम गर्न प्रेरित गर्न र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सघाउँछ। अभिभावकहरूको बक्सिङप्रतिको चिन्ता स्वाभाविक भए तापनि योग्य प्रशिक्षक, सुरक्षित वातावरण, र वैज्ञानिक विधिमा आधारित प्रशिक्षणले विद्यालयहरूमा यो खेललाई सहजै सञ्चालन गर्न सकिन्छ।

निष्कर्ष

बक्सिङ विद्यालय स्तरमै सिकाइँदा मात्र यो खेलको सकारात्मक प्रभाव समग्र विद्यार्थी जीवनमा देखिन्छ। फिटनेस, आत्मविश्वास, जीवन सीप र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा बक्सिङलाई लिन सकिन्छ। विद्यालय, अभिभावक, प्रशिक्षक र नीति निर्माताहरूको सहकार्यमा स्कुल बक्सिङ कार्यक्रमलाई विस्तार गर्न सके नेपाली युवाहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा दीर्घकालीन लाभ लिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!