भक्तपुर।
गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेले भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी सम्हालेको तीन दिन नपुग्दै जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागिताका लागि विशेष योजना सार्वजनिक गर्नुभएको छ।
जिल्लाका पत्रकारहरूसँगको भेटघाटमा पाण्डेले जनगुनासो प्रभावकारी रूपमा सम्बोधन गर्न अनलाइन उजुरी प्रणाली ल्याउने योजना सुनाउनुभयो। अब नागरिकले क्युआर कोड स्क्यान गरी सिधै सिडिओ कार्यालयमा उजुरी दिन सक्नेछन्। उजुरीहरू आफैं अध्ययन गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।
“सार्वजनिक सुनुवाइ पारदर्शी र जवाफदेही हुनुपर्छ, जनतालाई जानकारी नदिई हुने सुनुवाइ स्वीकार्य हुँदैन,” पाण्डेले भन्नुभयो। उहाँले प्रत्येक तीन महिनामा नगरपालिका पुगेर सम्बन्धित कार्यालय प्रमुखहरूसहित सार्वजनिक सुनुवाइ गर्ने र उठेका गुनासा तुरुन्त सम्बोधन गर्ने योजना सुनाउनुभयो।
पाण्डेले बढ्दो चोरी, ठगी, लागू औषध कारोबार र कालोबजारी नियन्त्रणका लागि सञ्चारकर्मीहरूको साथ र सूचना आदानप्रदानमा जोड दिनुभयो। “अपराध नियन्त्रण र नागरिक सुरक्षाका लागि मिडियाको साथ आवश्यक छ,” उहाँको भनाइ थियो।
वर्षायाममा प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि पनि योजना सार्वजनिक गर्दै उहाँले जोखिमयुक्त क्षेत्र पहिचान, नदीको बहावबारे सतर्कता दिने प्रणाली र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने कुरा बताउनुभयो। साथै, अवैध प्लटिङमा कडाइ गर्ने र वैध प्लटिङमा पनि वर्षायामभर निर्माण कार्य रोक्ने निर्देशन दिने जानकारी दिनुभयो।
कार्यक्रम राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख अनुसन्धान निर्देशक टेकराज तिमल्सिना र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारको संयोजनमा सम्पन्न भएको थियो। सो अवसरमा जिल्लाका समस्या र समाधानबारे अनौपचारिक छलफल पनि गरिएको थियो।