मध्यपुर थिमीमा दुई महिनाको सिरामिक्स तालिम सम्पन्न

मध्यपुर थिमि, १५ असार २०८२ः

मध्यपुर थिमिस्थित सिद्धिकालीको नेपाल सेरामिक्स संघ हलमा आइतबार दुई महिने सेरामिक्स तालिमको समापन समारोह तथा असार १५ को उपलक्ष्यमा दहीच्युरा खाने कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले आगामी प्रदेश सरकारको बजेटमा सिरामिक्स भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी समेत दिनुभयो।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना र नेपाल सिरामिक्स संघको सहआयोजनामा सम्पन्न तालिममा २५ जना युवाहरूले सहभागी भएर परम्परागत माटाका भाँडा बनाउने कला र प्रविधि सिकेका थिए।

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद कुस्माले परम्परागत र लोपोन्मुख सीपलाई पुनर्जीवित गर्न तालिमले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशिक्षक र आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो। प्रशिक्षकद्वय नारायणभक्त प्रजापति र रामकृष्ण प्रजापतिले प्रशिक्षण दिनुभएको थियो।

नेपाल सेरामिक्स संघका अध्यक्ष श्रीकृष्ण प्रजापति र सहकारी अध्यक्ष हरिगोविन्द प्रजापतिले पनि शुभकामना व्यक्त गर्नुभएको थियो। आयोजकहरूले यस्ता सीपमूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!