भक्तपुर फिस टनेल एक्स्पोमा ३० हजारभन्दा बढी अवलोकनकर्ताः स्कुलका लागि विशेष छुटको व्यवस्था

मध्यपुर थिमि, भक्तपुर

मध्यपुर थिमि नगरपालिका–५, राधेराधेमा सञ्चालन भइरहेको भक्तपुर फिस टनेल एक्स्पो मा हालसम्म करिब ३० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्।

औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गरेको सो एक्स्पो असार ६ गतेदेखि सुरु भई साउन १० गतेसम्म चल्नेछ। आयोजक संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार एक्स्पोले स्थानीय पर्यटन प्रवर्द्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीव सम्बन्धी ज्ञान दिन सहयोग पुर्‍याउनेछ।

नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अवलोकन टनेलका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ एक्स्पोको मुख्य आकर्षण बनेको छ। समुद्री वातावरण सजीव बनाउने गरी तयार गरिएको सो टनेलमा दुर्लभ र रंगीन गरी कुल १६० प्रजातिका समुद्री माछा राखिएको छ। ती माछाहरू भारत हुँदै नेपाल ल्याइएको र यो दोस्रोपटक मात्र सार्वजनिक अवलोकनमा ल्याइएको आयोजकले जानकारी दिएको छ।

विद्यालयस्तरीय शैक्षिक भ्रमणलाई प्रोत्साहित गर्न स्कुलहरूलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

एक्स्पोको हाताभित्र विभिन्न मनोरञ्जनात्मक खेल, बालमैत्री गतिविधि तथा फुड स्टलसमेत राखिएका छन्, जसले परिवारसहित आउने दर्शकहरूलाई थप आकर्षित गरिरहेको छ।

PC; hemraj dhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!