चाँगुनारायण नगरपालिकाको तीन वर्षे कार्यकालको समीक्षा : सञ्चारकर्मीसँग अन्तरक्रिया

भक्तपुरः

चाँगुनारायण नगरपालिकाले आफ्नो तीन वर्षे कार्यकालको अवसरमा नगरका विकास कार्य र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ।

नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा नगरकोटमा आयोजित सो अन्तरक्रियामा जनप्रतिनिधि र सञ्चारकर्मीबीच नगरपालिकाको प्रगति, उपलब्धि तथा भावी योजनाबारे विस्तृत छलफल भएको हो।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले आफ्नो नेतृत्वमा नगरपालिका जनमुखी सेवामुखी बनेको दाबी गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, वृद्धमैत्री कार्यक्रम, खेलकुद, निःशुल्क रगत व्यवस्था, दिवा खाजा, नगरकोट सडक स्तरोन्नति, भ्रमण वर्ष २०८२ लगायतमा चाँगुनारायण मोडल विकास गरिरहेको उल्लेख गरे।

उनले पहिलोपटक नि:शुल्क रगतको व्यवस्था गरेको, दिवा खाजाको दर काठमाडौं महानगरभन्दा पहिले वृद्धि गरिएको र नगरकोट सडक स्तरोन्नति मुलुककै पहिलो अभ्यास भएको दाबी गरे। तर, सामाजिक सञ्जालमा पालिकाको कामप्रति देखिएको असन्तोषप्रति खेद प्रकट गर्दै नगरवासीमा नागरिक भावना अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका आवश्यक रहेको बताए।

नगर उपप्रमुख रमेश बुढाथोकीले सञ्चारकर्मीहरूलाई पेशागत पत्रकारितामा लाग्न आग्रह गर्दै पालिकाको प्रचारप्रसारमा सहकार्यको अपेक्षा गरे।

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जनताको अपेक्षा स्वाभाविक रहेको र पालिकाले त्यसलाई सम्बोधन गर्न प्राथमिकता दिएको बताए। कार्यक्रममा अधिकृत सुरज पौडेलले तीन वर्षको विकास गतिविधिको चित्रमय प्रस्तुति दिएका थिए।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारिता तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै सहकार्यको प्रतिवद्धता जनाए। महासंघका सहसचिव तथा संयोजक हरिसुन्दर छुकाँले पत्रकारिता सुशासनको आधार भएको बताउँदै सञ्चारकर्मीलाई प्रतिपक्षी भूमिका निर्वाह गर्न पालिकाले वातावरण बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकाल, सञ्चारकर्मी कृष्ण प्रजापति, कृष्ण किसी, अन्जिर विक, लोकेन्द्र चिदाकास, मणिराम लामिछाने, रावन कार्की, पेशल आचार्य लगायतले नगरपालिकाको कार्यशैली र भावी सुधारबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!