पशु आहारा, दाना र फिड सप्लिमेन्ट दर्ताका लागि ३० दिनभित्र निवेदन पेश गर्न प्रयोगशालाको आग्रह

काठमाडौं, २३ असार २०८२ः

राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाले चालु आर्थिक वर्ष २०८२/८३ मा आयात तथा निर्यात हुने पशु आहारा, दाना पदार्थ र फिड सप्लिमेन्टका लागि दर्ता आवेदन खुला गरेको छ। प्रयोगशालाको निर्णयअनुसार इच्छुक व्यवसाय, उद्योग वा कम्पनीहरूले ३० दिनभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।

प्रयोगशालाले २०८२ साल असार ९ गतेको निर्णयका आधारमा ‘पशुजन्य उद्योग स्थापना, निकासी–पैठारी सिफारिस तथा बिक्रीवितरण अनुमति सम्बन्धी निर्देशिका, २०६०’ को दफा ८(३) अनुसार आवेदन प्रक्रिया सुरु गरिएको जनाएको छ।

यस प्रक्रिया अन्तर्गत आयात–निर्यात गर्न चाहने व्यवसायहरूले तोकिएको ढाँचामा निवेदन तयार पारेर राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालामा अवस्थित फिड सिफारिस उपसमितिको सचिवालयमा बुझाउनुपर्नेछ।

प्रयोगशालाका प्रमुख पशु विकास अधिकृत (सहसचिव) डा. हेमराज अवस्थीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “पशु आहारा, दाना तथा फिड सप्लिमेन्टको आयात, निर्यात तथा वितरणको प्रक्रिया व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन दर्ता अनिवार्य गरिएको हो।”

प्रस्तुत गर्नुपर्ने कागजातहरू:

१. व्यवसाय, फर्म, कम्पनी वा उद्योग दर्ता प्रमाणपत्र
२. प्यान वा भ्याट दर्ता प्रमाणपत्र
३. कर चुक्ता प्रमाणपत्र
४. पैठारी गरिने कम्पनीबाट जारी गरिएको नेपालमा बिक्री वितरणको आधिकारिक पत्र
५. नयाँ उत्पादनका लागि: लेबल सहितको नमुना र कम्तिमा २५% चारित्रिक विश्लेषण प्रतिवेदन
६. प्रत्येक वस्तुको नाम, बनावट, प्रयोग विधि र मात्रा उल्लेख भएको प्रमाणित कागजात
७. उत्पादक देशको सरकारी प्रयोगशालाबाट विश्लेषण गरिएको विवरण
८. फर्मका मुख्य संचालकको नागरिकताको प्रमाणपत्र
९. वार्षिक उत्पादन हुने पशु दाना, प्रिमिक्स र सप्लिमेन्टको विस्तृत सूची
१०. Antibiotic Free, Ruminant Protein Free, GMO Free घोषणा पत्र (स्व-घोषणा)

सूचनामा तोकिएको समयावधि भित्र सबै आवश्यक कागजातसहित आवेदन नपरेमा सिफारिस प्रक्रिया अघि नबढाइने प्रष्ट गरिएको छ। प्रयोगशालाले पशुपालन क्षेत्रको गुणस्तर, पशु स्वास्थ्य र उपभोक्ता सुरक्षाका लागि दर्ता प्रक्रिया प्रभावकारी हुने अपेक्षा गरेको छ।

सूचना:

darta-sambandhi-suchana-1751795368 (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!