भ्याक्सिन राखेको फ्रिजमा तरकारी,
३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन
मध्यपुर थिमि, चैत्र १, २०७९ः
रत्न काजि प्रजापति
भक्तपुर जिल्ला मध्यपुर थिमिमा संचालनमा रहेका प्रतिस्थित अस्पतालमा संचालनमा रहेको फार्मेसिमा हदै सम्मको लापर्बाहि देखिएको छ। उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा भक्तपुर जिल्लाअनुगमन समितिले मध्यपुर थिमिको अरनिको राजमार्गमा रहेका चार अस्पतालको अनुगमन गर्दा उक्त तथ्य बाहिरिएको हो। अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो ।
मंगलवार सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा घिमिरेको नेतृत्वमा जिल्ला अनुगमन समितिले मध्यपुर थिमिको मध्यपुर अस्पताल, गठ्ठाघरको नागरिक सामुदायिक अस्पताल, कौशलटारको भक्तपुर इन्टरनेशल अस्पताल र लोकन्थलीको समिट अस्पतालको औषधी विक्री कक्षको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भक्तपुर इन्टरनेशल अस्पताल बाहेक तीनवटै अस्पतालका फार्मेसीले बिरामीबाट चर्को मुल्य असुली गरेको पाइएको छ ।
अस्पतालका फार्मेसीले नियमानुसार लिन पाउने नाफाको अतिरिक्त खरिद मूल्यमा ३० देखि ११० प्रतिसत सम्म बढी मूल्य राखेका पाइएको अधिकारकर्मी एवं अनुगमन समितिका सदस्य मनोज थापाले जानकारी गराए । औषधीमा भन्दा सर्जिकल सामाग्रीमा बढी मूल्य राखिएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार दाहालले फार्मेसी संचालकले खरिद मूल्यमा सोह्र प्रतिसत भन्दा बढी नाफा राखी बिक्रि गर्न नपाइने व्यवस्था रहेको जानकारी दिनु भयो । ”२०% सम्म नाफा लिन छुट भएपनि त्यसका अतिरिक्त ११० % सम्म बढी असुल गर्नु कानुन बिपरित हो ।” उनले भने । अस्पताल फार्मेसीहरुले लागू औषधको रुपमा प्रयोग हुन सक्ने औषधीलाई छुट्याएर राखेको पनि पाइएन भने बिना प्रेसक्रिप्सन नागरिक अस्पतालले यस्ता औषधी बिक्रीवितरण गरेको पाइएको छ।
समिट अस्पतालले म्याद नाघेका औषधी पनि संगै राख्नुका साथैऔषधी राखेको फ्रिजमा तरकारी पनि राखेको पाइयो । संबेदनशिलऔषधी संगै तरकारी मिसाएर राख्नु गम्भीर लापरवाही भएको स्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत दिपक अछामीले जानकारी दिएका छन् । अनुगमन समितिका संयोजक एवं सहायक सिडिओ माधव प्रसाद शर्मा घिमिरेले हाइवेका अस्पतालले संचालन गरेका फार्मेसीमा बढी मुल्य राखिएका र केही प्राविधिक कमजोरी देखिएका पुष्टि गरे।
उनीहरुलाई फार्मेसी संचालनको अनुमती पत्र लगायत कागजपत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन् निर्देशन दिइएको सहायक सिडिओ शर्माले जानकारी दिए । उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही हुने उनको भनाइ छ । अनुगमनमा मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य शाखाका अधिकारीहरु समेतको सहभागिता रहेको थियो।