भक्तपुर, मध्यपुर थिमि, ६ साउन २०८२ः
भक्तपुरको मध्यपुर थिमि स्थित मनोहरा फाँटमा दुर्लभ नयाँ चरा प्रजाति फेला परेको छ। ‘साइबेरियन स्यान्ड प्लोभर’ (Siberian Sand Plover) नामक यस चराको नेपालमा पहिलोपटक पुष्टि भएको हो।
कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको अनुसन्धान टोलीले गत असार ६ गते उक्त चरा देखेका थिए। प्रारम्भिक पहिचानपछि असार ९ गते नेपाल पन्छीविद् संघलाई तस्वीर र विवरणसहित जानकारी पठाइएको थियो।
संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पन्छीविद्सँगको समन्वयमा आवश्यक अध्ययनपश्चात मंगलबार एक विज्ञप्ति जारी गर्दै यो नयाँ प्रजाति नेपालमा अभिलेख भएको औपचारिक घोषणा गरेको हो।
यस चरालाई नेपालीमा ‘साइबेरियाली राजपुत्रिका’ नाम दिइएको छ। यो चरा साइबेरिया, मंगोलिया, फिनल्यान्ड, जापान, कोरिया, भारत, ताइवान, तिब्बत, भुटान, मलेसिया, अफगानिस्तान र पपुआ न्युगिनी लगायत विभिन्न देशमा पाइने गर्छ।
नयाँ प्रजातिको चरा थपिएसँगै नेपालमा अभिलेख भएको चराको संख्या अब ९०२ पुगेको नेपाल पन्छीविद् संघले जानकारी दिएको छ।