नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीको नेतृत्वमा ज्ञापनपत्र
काठमाडौं, १९ साउन २०८२ः
रत्न काजि प्रजापति
नेपालमा आत्मनिर्भर बन्न सफल पोल्ट्री व्यवसाय अवैध आयातको चपेटामा परेपछि उद्योगीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीको नेतृत्वमा गृहमन्त्री, प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै खुला सीमाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुहरूको नियन्त्रणमा कडा कदम चाल्न आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरी महानिरीक्षक (एपीएफ आईजी) राजु अर्यालले संयुक्त रूपमा सिमा नाकामा हदैसम्मको कडाई गरिने र कानुन विपरीत पोल्ट्रीजन्य वस्तु आयात गर्ने उपर कडा कानुनी कारबाही हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

आत्मनिर्भर व्यवसाय संकटमा
दाना उद्योग संघका अध्यक्ष रबिन पुरीका अनुसार पोल्ट्री व्यवसायमा हाल करिब १ खर्ब ६० अर्ब रुपैयाँको लगानी रहेको छ। कुल ग्राहस्थ उत्पादन (GDP) मा करिब ३ प्रतिशत योगदान दिँदै आएको यो क्षेत्रले ५ लाखभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ। नेपालमा पोल्ट्री व्यवसायले गुणस्तरीय र सस्तो प्रोटिनयुक्त मासु र अण्डा उपलब्ध गराउँदै आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
खुला सीमा र अवैध आयात : उद्योगीहरुको मुख्य चिन्ता
संघका अनुसार भारतसँगको खुला सीमाबाट दैनिक रूपमा कुखुराको चल्ला, तयारी कुखुरा, अण्डा तथा मासु अवैध रूपमा नेपाल भित्रिने गरिएको छ। यसबाट भारतमा बारम्बार देखा पर्ने बर्डफ्लु जस्ता रोगको जोखिम र सरकारी राजस्वको ठूलो चुहावट हुने गरेको छ। “स्वीटकर्न वा फ्रेन्च फ्राइ भनेर उल्लेख गरिएका कन्टेनरहरू चेकजांच गर्दा पोल्ट्रीजन्य मासु र माछा समेत फेला पर्ने गरेको छ, जसले भन्सार प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।” ज्ञापनपत्रमा भनिएको छ।
सीमाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न ब्यबसायीको माग
अध्यक्ष रबिन पुरी नेतृत्वको प्रतिनिधिमण्डलले अवैध कारोबारमा संलग्न सवारीसाधन जफत गरी नष्ट गर्न, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न, र हालको जरिवाना दस्तुर न्यून रहेकोले दस्तुर वृद्धि गर्नुपर्ने माग गरेका छन्। साथै सशस्त्र प्रहरी बलको सीमा निगरानीमा कडाइ गर्नुका साथै स्वदेशी उद्योगलाई प्राथमिकता दिने नीति व्यवहारमा लागू गर्न माग गरेका छन।
गृहमन्त्री र सुरक्षा प्रमुखहरुको प्रतिवद्धता : “अबैध कारोबार सह्य हुने छैन”
उद्योगीहरूको गुनासो गम्भीर रूपमा लिँदै गृहमन्त्री रमेश लेखकले सीमा नाकामा सशस्त्र सुरक्षाको उपस्थिति थप बलियो बनाइने र कानुन विपरीत गतिविधिमा संलग्न जोकोही माथि कडाभन्दा कडा कारबाही गरिने बताएका छन्।
प्रहरी प्रमुख दीपक थापा र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले पनि अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको बताए।
प्रभावित नाकाहरू र व्यवसायीको चिन्ता
नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, भण्टावारी लगायतका नाकाबाट नियमित रूपमा पोल्ट्रीजन्य वस्तु चोरी पैठारी भइरहेको संघले जानकारी दिएको छ। सीमावर्ती जिल्लाका केही कोल्ड स्टोरहरूले भारतबाट अवैध रूपमा आयात गरेर ड्रेसिङ गरी मासु काठमाडौं लगायतका मुख्य शहरहरूमा पठाइरहेका छन्, जुन स्वदेशी उद्योगका लागि घातक भएको उल्लेख छ।
नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले नौलोआयाम डटकमसंग संक्षिप्त कुरा गर्नु हुदै सरकारले पोल्ट्री व्यवसायलाई आत्मनिर्भर क्षेत्र घोषणा गरिसकेकोले यसलाई सुरक्षित गर्न केवल नारा र प्रतिबद्धता मात्र नभई कडा कार्यान्वयन आबश्यक रहेको बताउनुभयो। प्रतिनिधिमण्डलमा नेपाल हयाचरी उद्योग सघका अध्यक्ष लक्ष्मीदास मानन्धर लगायत प्रतिष्ठित पोल्ट्री ब्यबसायीहरुको उपस्थिति रहेको थियो।
ज्ञापनपत्र
