काठमाडौँ, २४ साउन २०८२ः
सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल धार्मिक सहिष्णुताको नमुना रहेको बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घले ३१ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजित समारोहमा उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले भन्नुभयो, “भेषभूषा, पहिचान, भाषाको संरक्षण गर्न जरुरी छ । सबैको आ-आफ्नै फरक संस्कृति छ । खानाको संस्कृति छ । चाडपर्व मान्ने तरिकाभित्र संस्कृति छ । धर्म, संस्कृति अरुको मानेर नाम चाहिँ किरात चाहियो भन्नुको अर्थ हुँदैन । आफ्नो सिङ्गो नेपाली जनताको लागि राजनीति गर्नुपर्यो । यी सबै कुराका लागि आदिवासी दिवसले प्रेरणा दिनुपर्यो ।”
उहाँले नेपालको संविधानमा उल्लेख भएका अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले सम्झौता गरे अनुसार आवश्यक बुँदामा संविधान संशोधन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “संविधानमा लेखेका कुरा कार्यान्वयन हुन सकेको छैन । त्यो आफ्नै ठाउँमा छ । संविधान संशोधन गर्ने कुरा २०८४ सम्म हाम्रो सरकार रह्यो भने संविधानको आवश्यक बुँदा संशोधन गरेर जान्छौं ।”
नेपालमा बोलिने सबै भाषा राष्ट्र भाषाको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले मातृभाषाको संरक्षणसँगसँगै नेपाली, अङ्ग्रेजी लगायत भाषाको ज्ञान बढाउनुपर्नेमा जोड दिनुभयो ।