चितवन, २७ साउन २०८२ः
मानिसले बनभोज गर्ने कुरा सामान्य भए पनि चितवनको शौराहामा यसपटक हात्तीको बनभोज कार्यक्रम विशेष आकर्षणको विषय बन्यो। वन वातावरण संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनको उद्देश्यसहित बाघमारा मध्यवर्ती सामुदायिक वनमा निजी घरपालुवा तथा सरकारी हात्तीहरूलाई सामूहिक बनभोज खुवाइयो।
कार्यक्रम हेर्न हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लागेको थियो। हात्तीहरूको लागि चामल र भेलीबाट विशेष केक तयार गरिएको थियो भने उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजा लगायतका मिठा परिकार पनि राखिएको थियो।
करीब ६० वटा हात्ती सहभागी भएको बनभोजको सुरुवात चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले हात्तीका छावालाई सख्खर र फलफुलको केक खुवाएर गर्नुभयो। मिठा परिकार पाएकोमा हात्तीहरू रमाइरहेको दृश्यले उपस्थित सबैको मन लोभ्यायो।