भक्तपुर, २१ भाद्र २०८२ः
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले नेपालकै इतिहासमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
केन्द्रले आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो उपलब्धिलाई “नेपालमै जटिल प्रत्यारोपण सम्भव छ भन्ने ऐतिहासिक उदाहरण” भएको बताए।
तेस्रोपटक प्रत्यारोपण सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीमा गरिएको हो। भदौ ९ गते गरिएको शल्यक्रियापछि उहाँलाई आज डिस्चार्ज गरिएको जनाइएको छ।
डा. श्रेष्ठका अनुसार तेस्रोपटक मिर्गौला प्रत्यारोपण संसारभर नै दुर्लभ र उच्च जोखिमयुक्त प्रक्रिया मानिन्छ। “इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, औषधीय चुनौती तथा दाता पाउन गाह्रो हुने कारणले यस्तो प्रत्यारोपण निकै कठिन हुन्छ,” उहाँले भने, “मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो।”
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा, दोस्रो विसं २०७२ मा तथा तेस्रो सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमै ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गरिएको हो।
नेपालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण सन् २०१० मै वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सुरु भएको थियो। तर, तेस्रोपटकको प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ।
स्थापनाको १३ वर्षमा केन्द्रले १,५०२ जना बिरामीमा सफल मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ।