बागमती प्रदेश सभाका सभामुख पाठकद्वारा राजीनामा

मकवानपुर, २८ भाद्र २०८२ः

बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । जेनजी (नयाँ पुस्ता) को आन्दोलन र विकसित पछिल्लो घटनाक्रमपछि सभामुख पाठकले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

सभामुख पाठकले परिवर्तनका लागि युवाले गरेको आन्दोलनका क्रममा देशमा ठुला धनजनको क्षति भएकोले पदमा बस्ने अवस्था नरहेकाले राजीनामा दिएको बताउनु भयो ।

उहाँले प्रदेशका संरचनाहरु पनि ध्वस्त भएको र काम गर्न सक्ने अवस्था पनि नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुले सामूहिक राजीनामा दिँदै संसदबाट बाहिरिने निर्णय गरेसँगै सभामुख पाठकले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले बागमती प्रदेश सभामुखको सचिवालयको सामाजिक सञ्जाल फेसबुक पेजमा समेत राजीनामा दिएको पोष्ट गर्नुभएको छ । फेसबुक पेजमा उहाँले गह्रौँ तर दृढ मनले, मैले बागमती प्रदेश सभाको सभामुखको पदबाट राजीनामा दिने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

देश अहिले ऐतिहासिक मोडमा उभिएको छ, हाम्रो नयाँ पुस्ता (जेन—जेड) ले साहस, स्पष्टता र दृढ विश्वासका साथ परिवर्तनको स्वर बुलन्द गरेका छन् उहाँले भन्नुभयो, उनीहरूको आवाज केवल आन्दोलन मात्र होइन, विवेकको क्रान्ति हो, जसले हामीलाई न्याय, पारदर्शिता र समानताको बाटोमा हिँड्न स्मरण गराइरहेको छ ।

सभामुखको हैसियतमा मैले सधैं लोकतन्त्र र सभाको गरिमा जोगाउन प्रयास गरेँ । तर यस घडीमा, नयाँ पुस्ताको न्यायोचित आकांक्षासँग ऐक्यबद्धता जनाउनु नै मेरो पहिलो दायित्व ठान्छु, उहाँले अगाडि भन्नुभएको छ, नेतृत्वको अर्थ केवल कुर्सी सम्हाल्नु मात्र होइन, जनताको धड्कन सुन्नु पनि हो—विशेषगरी हाम्रो भविष्यलाई नेतृत्व गर्ने युवापुस्ताको ।

म विश्वस्त छु, यो पुस्ता इतिहासमा आफ्नो दृष्टि, साहस र अटल प्रतिबद्धताका कारण अमर हुनेछ । मेरो राजीनामा उनीहरूको संघर्षप्रति सम्मान र भविष्य निर्माणतर्फ सानो योगदान हो । उहाँले सचिवालयको सामाजिक सञ्जालको पेजमा लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!